दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल (एओएएन) ले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको हो ।
संघले सबै आन्तरिक उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।
नेपालीहरुको महान चाड वडादशैं, तिहार तथा छठको अवसरमा संघका सबै नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीहरुको उडान टिकट सम्बन्धी आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन् । उक्त छुट सामान्य हवाई भाडमा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।
हालसम्म वायुसेवा संचालक संघ, नेपालसँग नेपाल वायुसेवा निगम सहित १६ वायुसेवा प्रदायक कम्पनीहरु आवद्ध छन् ।