विराटनगर भन्सार कार्यालयले लक्ष्य भन्दा १० प्रतिशत कम राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५–७६ मा ४२ अर्ब ५३ करोड एक लाख ९२ हजार लक्ष्य राखेकोमा ३८ अर्ब २८ करोड ७ लाख ३ हजार ७४ रूपैयाँ मात्र राजस्व संकलन भएको छ।
विराटनगर भन्सार कार्यालयका अधिकृत अशोक गुरागाईंले अनुमानित लक्ष्यको ९० दशमलव २ प्रतिशत मात्रै राजस्व संकलन भएको बताए। ‘अघिल्लो आर्थिक वर्ष लक्ष्य भन्दा बढी नै राजस्व असुली भए पनि गत आर्थिक वर्षका लागि राखिएको लक्ष्य भने भेट्न सकिएन,’ उनले भने, ‘आयात घट्यो, विकास बजेट कम खर्च भएको प्रभाव भन्सारमा परेको छ।’
भन्सार कार्यालयले भन्सार महसुलतर्फ १५ अर्ब ४६ करोड आठ लाख छ हजार ४९, मूल्य अभिवृद्धितर्फ २० अर्ब ८४ करोड ८२ हजार सात सय २० र अन्तःशुल्कतर्फ एक अर्ब ९६ करोड, ७१ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
भन्सार कार्यालयले भन्सार महसुलतर्फ १८ अर्ब ३० करोड ७७ हजार एक २०, मूल्य अभिवृद्धितर्फ १८ अर्ब ३४ लाख ४७ हजार र अन्तःशुल्कतर्फ छ अर्ब २२ करोड ७५ हजार नौ सय रुपैयाँको लक्ष्य राखेको थियो ।
गुरागाईंले भारतीय स्थानीय प्रशासनले आर्थिक वर्षको अन्त्यमा आयात–निर्यातमा गरेको अवरोधले कम राजस्व उठेको बताए ।
सबैभन्दा बढी असोज महिनामा राजस्व बढी असुली भएको छ । असोजमा मात्र ३ अर्ब ९७ करोड राजस्व संकलन भएको भन्सारको अभिलेखमा देखिन्छ ।
गत वर्ष ३१ अर्ब २४ करोड रुपैयाँको लक्ष्य राखेर ३२ अर्ब ८१ करोड रुपैयाँ राजस्व असुली गरेको थियो ।