हिमालय एअरलाइन्सले थाल्यो बंगलादेश उडान

तस्बिरः बिएल

काठमाडौं ।

निजी क्षेत्रको एयरलाइन्स हिमालय एयरलाइन्सले सोमबारदेखि बंगलादेशको राजधानी ढाका-काठमाडौं उडान सुरू गरेको छ।

प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान गर्ने बताइएको छ।

१४१ यात्रु बोकेर हिमालय एअरलाइन्सको विमान एच ९ ६७८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान ११:३३ मा उडेको थियो।

विमान ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार दिउँसो १ बजे अवतरण गरेको थियो।

आजै १०४ यात्रु बोकेर एयरलाइन्सको विमान एच ९-६७९ ढाकाबाट स्थानीय समय अनुसार २ बजेर २६ मिनेट मा उडान भरी त्रिभुवन विमानस्थलमा ३ बजेर ४४ मिनेटमा अवतरण गरेको थियो।

हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बंगलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्तसमेत गरेको कम्पनीले जनाएको छ।

‘व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदानप्रदानलाई अझ प्रगाढ बनाउँदै दुवै मुलुकका व्यावसायिक यात्रुका लागि रहेको महत्वपूर्ण व्यापारिक अवसरलाई प्रोत्साहन गरी काठमाडौं र ढाकालाई निकट ल्याउन पाउँदा हामी प्रशन्न छौँ। दुबै बजारबाट यो रुटमा सीधा उडान सञ्चालन हुनुपर्ने माग छ र हामीले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी उडान सुरु गरेका हौ,’ हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।

यो नयाँ रूटले घुमफिर प्रयोजनका लागि आउने यात्रु आगमनलाई बढाउने मात्र नभई ब‌ंगलादेशमा अध्ययन गरिरहेका र विशेषगरी चिकित्सा क्षेत्रमा अध्ययन गर्ने ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीहरुका लागि समेत सेवा प्रदान गर्नेछ। भ्रमण वर्ष २०२० को प्रवर्द्धन सहित २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै छिटै अन्य धेरै अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने उपाध्यक्ष श्रेष्ठले बताए।

करिब ८० लाख जनसंख्या भएको ढाका दक्षिण एसियाको प्रमुख सहरहरु मध्ये एक हो। बंगलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुची राख्नेहरुका लागि उपयुक्त पर्यटकीय गन्तव्य स्थल हो। नेपाल भ्रमण आउने पर्यटकहरुमा बंगलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ र सन् २०१९ को जनवरीदेखि जुन २०१९ सम्म १०हजार पाँच सय ९० बंगलादेशी पर्यटक नेपाल आएका छन् ।

अघिल्लो वर्ष सन् २०१८ को दाँजोमा बंगलादेशी पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेको छ। नयाँ सञ्जाल प्रारम्भ गरेसँगै हिमालय एयरलाइन्स्ले ठूलो संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याएर भ्रमण वर्ष २०२० को पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पुर्‍याउने बताएको छ ।

नेपाल–चीन संयुक्त रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो। अहिले हिमालय एअरलाइन्स्ले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी छ गन्तव्यस्थलमा आफ्नो उडान सञ्चालन गरेको छ।

एअरलाइन्ससँग अहिले ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्ट स्वामित्वमा रहेको छ। सन् २०१९ मा हिमालय एअरलाइन्स्ले चीनसँगको सञ्जाललाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र चीनका अन्य शहरहरु नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङ लगायतका गन्तव्य स्थलमा आफ्नो विस्तार पुँयाउने योजना रहेको एअरलाइन्सले बताएको छ।

हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, संस्कृति,  नेपालका लागि बंगलादेशी राजदूत मासफी विन्टे शाम्स, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजय बहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङको उपस्थित रहेको थियो।

प्रकाशित मिति: : 2019-07-22 19:28:42

प्रतिकृया दिनुहोस्