हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

तस्बिरः बिएल

निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेश उडान गर्ने भएको छ ।

बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौं–ढाका सीधा उडान थाल्ने जनाएको हो।

एयरलाइन्सले काठमाडौं–ढाका साताको तीन दिन उडान गर्ने ग हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए।

हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौंबाट स्थानीय समय ११:१० मा उडान भर्नेछ र स्थानीय समय १३:१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

सोही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २:१० मा उडान गरी काठमाडौंमा दिउँसो ३:२० मा अवतरण हुनेछ ।

उक्त एयरलाइन्सले १५० इकोनोमी क्लास र आठवटा प्रिमियम इकोनोमी क्लासको सीट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गर्नेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० का तीनवटा जहाज छन् ।

व्यावसायिक, अध्ययन तथा घूमघाम प्रयोजनका लागि बङ्गलादेश जाने दुवै प्रकृतिका यात्रुलाई लक्षित गरेर उडान तालिका सार्वजनिक गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ ।

हिमालयले हाल कतारको दोहा, दुबई–आबुधावी र दमामको नियमित उडान गर्दै आएको छ । सन् २०१९ भित्रै चीनका विभिन्न गन्तव्यमा समेत उडान गर्ने कम्पनीको योजना छ ।

नेपाली पर्यटनका लागि बङ्गलादेश ठूलो स्रोत बजार हो। नेपाल पर्यटन बोर्डको विवरणअनुसार बङ्गलादेशबाट सन् २०१८ मा २६ हजार २५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष २९ हजार ६० पर्यटक नेपाल आएका थिए।

प्रकाशित मिति: : 2019-07-21 14:43:15

प्रतिकृया दिनुहोस्