नर्सरीबाट मनग्ये आम्दानी

तस्बिरः एजेन्सी

कञ्चनपुर । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडाका रुपसिंह धाँमीले जीवनमा उतारेका छन्र

भारतमा मजदूरी गरेर कमाएको थोरै पूँजीमा नर्सरी व्यवसाय शुरु गर्नुभएका धाँमी यस क्षेत्रका सबैका लागि प्रेरणाको स्रोत बनेका छन्।  शुरुमा आयुष नर्सरी उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा उनले धेरै चुनौतीको सामना गरे।

उनलाई बिरुवा बिक्री गर्न निकै समस्या भयो। धाँमीले भने, ‘बिरुवा उत्पादन भए । खरीद कर्ता कोही आएन । आफैँ बिरुवा बिक्री गर्न बजार र गाउँ घरमा खटिएपछि थोरै बिक्री भए।’ बिरुवा बिक्री नहुँदा पहिलो वर्ष केही घाटा व्यहोर्नु परे पनि हिम्मत भने उनले हारेनन्। दोस्रो वर्षदेखि ग्राहकको रोजाइमा पर्ने बोट बिरुवा उत्पादन गरेपछि सहजै बिक्री हुन थाले ।

बिरुवा बिक्रीको आम्दानीले नर्सरीमा बाह्य क्षेत्रबाट बीउ ल्याएर बिरुवा उत्पादन हुन थालेपछि कञ्चनपुरसँगै सुदूरपश्चिम क्षेत्रका सबै जिल्लामा बिरुवाको माग आउन थाल्यो । आधा दर्जन बिरुवाबाट शुरु गरिएको नर्सरीमा हाल पाँच दर्जन प्रजातिका बिरुवा उत्पादन गरिएको छ । अन्न उत्पादन थोरै हुने १५ कट्टा भोगचलन गर्दै आएको जग्गामा धाँमीले आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार, अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् ।

घाँस प्रजातिमा बकाइनो, टाँकी, वडहर, इपिलइपिल, बडहर, किमु र काठ गरी सात प्रजातिका छन् । त्यस्तै बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।

घर सजावटका बिरुवामा अशोक, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते, गुलाबलगायतका बिरुवाको उत्पादन नर्सरीमा हुँदै आएको छ ।

बिरुवा बिक्रीबाट आएको रकम र सहकारीबाट ऋण लिएर नर्सरी व्यवसायमा उनले रु १० लाख बढी लगानी गरेका छन्। वार्षिकरुपमा नर्सरीबाट १५ देखि रु २० लाखसम्म आम्दानी हुने गरेको छ । नर्सरीमा काम गर्ने मजदूर, प्लाष्टिक झोला, बिरुवाको बीउ, सिँचाइ, मल, विषादीसहितमा खर्चेर रु तीन लाख रकम बचत हुने गरेको उनको भनाइ छ ।

 गत वर्ष रु १८ लाखको बिरुवा बिक्री गर्नुभएका धाँमीले यस वर्षको हालसम्म रु १० लाख बढीको बिरुवा बिक्री गरेका छन्। नर्सरीमा अझै रु २० लाख मूल्यका बिरुवा बिक्री हुन बाँकी छ । नर्सरीमा १० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

नर्सरीमा बिरुवा उत्पादन गर्न चाहिने कच्चा पदार्थसहित बीउका लागि भारतको रुद्रपुर, रामनगर र बरेली पुग्नुपर्ने बाध्यता रहेको उनले बताए। धाँमीका बुबा पान सिंह र काका प्रतापसिंहसमेत नर्सरी व्यवसायमा संलग्न रहँदै आएका छन्।

दुवै जनाबाट नर्सरी तयार गर्ने तरिका सिकेपछि यसलाई व्यवसाय बनाएको उनले बताए। धाँमीले भने, ‘अन्न र अन्य व्यावसायिक खेतीभन्दा नर्सरी व्यवसायबाट बढी आम्दानी लिन सकिने भएकाले भारतमा महीनाको रु १५ हजार पाइने नोकरी छाडेर नर्सरी व्यवसाय अँगालेको छु।”

 धाँमीका काकाले नर्सरीमा दुई लाख र बुबाले ५० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेका छन् । भारतबाट साइकलमा बिरुवा ल्याएर बिक्री गर्ने व्यवसायीबाट बिरुवा उत्पादन गर्न धाँमी परिवारले प्रेरणा पाएका थिए । नाकाबन्दीका बेला भारतबाट बिरुवा ल्याउने क्रममा भारतीय सुरक्षाकर्मीले बिरुवा वनवासा पुलबाट महाकाली नदीमा फालिदिएपछि घरमै नर्सरी राखेर बिरुवा उत्पादन शुरु गरेको प्रतापसिंह धाँमीले बताए।

नर्सरीमा उत्पादित बिरुवा रु ८० प्रतिबोट देखि रु ४०० प्रतिबोटका दरले बिक्री हुन्छ ।

व्यवसायीले गाडीसहित घरमै पुगेर बिरुवा लान्छन् । तराईकाभन्दा सुदूरपश्चिमका पहाडी जिल्लामा यहाँ उत्पादित बिरुवाको बढी माग हुने गरेको बताइएको छ । रासस

प्रकाशित मिति: : 2019-07-20 15:51:50

प्रतिकृया दिनुहोस्