ठेकेदारको चरम लापरवाही र असारमा काम सिध्याउने चटारोका बीच मोरङको बुढीगंगा गाउँपालिकामा सडक कालोपत्रे गरेको १० दिनमै उप्किएर फेरि ग्राभल रोडमा परिणत भएको छ।
बुढीगंगा गाउँपालिका ३ र ४ को सीमानजिकै हुलास वायरको उत्तरतर्फ मुक्ती आश्रम जाने बाटो ठेकेदारको चरम लापरवाहीका कारण निर्माण भएको साता दिनमै जीर्ण बनेको हो।
सडक निर्माणको ठेक्का यसुकी निर्माण सेवा प्रालीले गत वर्ष चैत ११ मा पाएको थियो। ठेकेदार कम्पनीले जेठ ३२ मै कार्य सम्पन्न गर्ने सर्तसहित एक सय १९ मिटर लम्बाई र ७ मिटर चौडाई रहेको सडक निर्माणको ठेक्का ६४ लाख ३७ हजार ४ सय ४५ रुपैयाँमा पाएको हो। तर, अढाई महिना चुप लागेर बसेको ठेकेदार कम्पनीले समय अपुग भएको भन्दै १० दिनअघि मात्र काम सम्पन्न गरेको थियो।
सडक निमार्णको विषयमा गाउँपालिकाका इन्जिनियर र प्रशासकीय अधिकारीको फरक मत देखिएको छ।
हाल सडकको कालोपत्रे भत्किँदा गिट्टी पुरै बाहिर निस्किएको छ।
गाउँपालिका ईन्जिनियर मनोजकुमार ठाकुर सडक १० दिनमै बिग्रिनुलाई प्राविधिक त्रुटि भन्न रुचाउँछन्।
उनले ब्रेक एन लिंक्स (बीएल मिडिया) सँग भने, ‘केही प्राविधिक त्रुटि भएको हो। तर, काम सकिएकै राती ठूलो पानी परेको कारण पनि कालोपत्र बगेको थियो।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने भने सडकको स्थलगत अनुगमन गर्दा ठेकेदार कम्पनीको लापरवाही पुष्टि भएको बताउँछन्। ‘अनुगमनका क्रममा ठेकेदारलाई बोलाएर सडक पनि देखायौं,’ उनले भने, ‘अबको केही दिन भित्र फेरि कालोपत्र थप्न निर्देशन दिएका छौं।’