बिहारको बाढीले गर्दा जाेगवनी भन्सार तीन दिनदेखि ठप्प

विराटनगर भन्सार कार्यालय

बाढीका कारण भारतको बिहारस्थित मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि पूर्वी नेपालको विराटनगरस्थित जोगवनी नाका ठप्प भएको छ। जसका कारण विगत ३ दिनदेखि भारत र तेस्रो मुलुकबाट नेपाल आउने कुनै सामान भित्रिएको छैन।

भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेल भन्छन्,‘ भारतबाट कुनै मालवहाक सवारी नआएको ३ दिन भयो। भारत तथा तेस्रो मुलुकबाट हुने आयात र नेपालबाट हुने निर्यात प्रभावित भएको छ।’

बाढीका कारण भारतीय पक्षले खाली गाडी पनि भारततर्फ लैजान दिएको छैन। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत नेपाल र भारत सरकारको प्राथमिकतामा पुल नपर्दा उद्योग व्यवसायीलाई निकै कष्ठ भएको बताए।

‘हामीले पटक–पटक पुलको विकल्पबारे ध्यानाकर्षण गराएका थियौं। तर कतैबाट सुनुवाई भएन,’ उनले भने, ‘अहिले औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन भारतीय भूमिमै रोकिनु परेको छ ।’

राउतले पुलमा क्षति पुगेमा पूर्व क्षेत्रका धेरै उद्योग संकटग्रस्त बन्ने र बन्द हुने चेतावनी दिए। ‘नेपाल सरकारले समस्या समाधानको दिगो समाधान गर्नुपर्छ, उनले भने, ‘यस विषयमा नेपाल र भारत दुवै सरकार गम्भीर भएको पाइँदैन ।’

मिरगञ्ज पुल विग्रिएको खण्डमा विकल्पका रुपमा सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नुपर्ने अवस्था आउने उद्योगी व्यवसायी बताउँछन्।

राउत भण्टाबारीबाट सामान आयात गर्दा ठूलो समस्या बेहोर्नु पर्ने र ढुवानी भाडा पनि महँगो पर्ने बताउँछन्।

‘दुई वर्ष अघि पनि मिरगञ्ज पुलमा समस्या हुँदा भण्टाबारी नाका प्रयोग गरियो,’ उनले भने, ‘त्यो नाकाबाट समय र ढुवानी खर्च बढी लाग्छ ।’

२०७४ सालको भीषण बाढीले क्षति पुगेको सो पुलबाट पछिल्लो समय ४० मेट्रिक टन सम्मका सवारी साधन मात्रै भित्र्न दिने गरिएको थियो । बढी तौलसहित मालसमानको सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्र्ने गरेका थिए ।

भारतबाट जोगवनी नाका हुँदै दैनिक ३ सय बढी मालवहाक सवारी साधन नेपाल भित्रिने गरेका छन् । जसबाट दैनिक करिब १५ करोड राजस्व संकलन हुने गरेको भन्सारले जनाएको छ । मालबहाक सवारी साधन नभित्र्दा भन्सारको राजस्व संकलन समेत प्रभावित बनेको छ ।

प्रकाशित मिति: : 2019-07-15 23:15:52

प्रतिकृया दिनुहोस्