सौँठा बचत तथा ऋण ले गर्यो सहकारी एकीकरण सम्बन्धि गोष्ठी

बिएल

सहकारीलाई एकीकरणका माध्यमले सबल र सक्षम बनाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यका साथ रतुवामाईमा सहकारी एकीकरण अभियान सुरु भएको छ। 

स्थानीय सौँठा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विहिबार सम्पन्न कार्यशाला गोष्ठीमा रतुवामाई नगरपालिकाको वडा नम्बर ६ र ७ मा रहेको ६ वटा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकहरूको सहभागिता थियो।

सहकारी नियमावलीमा २ हजार जनसंख्या बराबर एक वडामा एक सहकारी हुनुपर्ने र एक व्यक्ति एक सहकारीको नीतिगत व्यवस्था रहेकोले सहकारीहरु एकआपसमा एकीकरण हुनुपर्नेमा जोड दिइयो।

कार्यक्रममा जिल्ला वचत संघ मोरङका निवर्तमान अध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला बचत संघ लेखा संयोेजक विष्णुप्रसाद ओझालगायतको सहभागिता रहेको थियोे ।

कार्यशालामा सौँठा बचत, सुनगभा बचत, उन्नती महिला बचत, विश्वनाथ बचत, बिरानमुनि बचत र सिजुवा बचतको सहभागिता रहेको थियोे । हाल सम्म २ वडामा ६ सहकारीका कूल ७ हजार ९ सय ७९ सदस्य छन् ।

संस्थाहरूले ऋण लगानी तर्फ २९ करोड , बचत संकलन १९ करोड, सेयर पूँजी ५ करोड र कूल सम्पति ४० करोड रहेको सौँठा बचतका व्यवस्थापक यादव बिष्टले बताए।

कार्यक्रमका प्रमुख अतिथी रहेका जिल्ला बचत संघ मोरङका निवर्तमान अध्यक्ष सुवेदी भने एउटै गाउँमा यति धेरै सहकारी हुँदा सबै पक्षलाई राम्रो नहुने तर सबै मिलेर एकै ठाउँँबाट सहकारी सञ्चालन हुँदा सेयर सदस्यहरूले लाभ लिन सक्ने बताए । कार्यक्रम सौँठा बचतका अध्यक्ष ऋषिराम मिश्र को सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: : 2019-07-11 21:09:37

प्रतिकृया दिनुहोस्