फागुन १३ देखि अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो, ९० भन्दा बढी विदेशी कम्पनीको सहभागीता

तस्बिरः बिएल

काठमाडौं । आगामी फागुनको दोस्रो साता काठमाडौंमा पाँचौ चेम्बर एक्स्पो हुने भएको छ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गर्ने कार्यक्रम फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास चेम्बरले लिएको छ।

मुलुक आर्थिक सम्बृद्धितर्फ उन्मुख भैरहेको अवस्थामा दिनहुँ व्यापार घाटा चुलिँदै गएको भन्दै निजी क्षेत्रको सक्रिय सहभागिताका लागि मेला आयोजना गरिन लागेको मेला समितिका सभापति राष्ट्र भूषण चाकुबाजीले बिहिबार जानकारी गराए।

‘चुलिँदै गइरहेको व्यापार घाटा न्युनिकरण गर्दै आर्थिक कृयाकलापलाई तिब्र गतिमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपूर्ण हुनेमा दुई मत छैन। यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भव हुने मुलमन्त्र सहित पाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको हो,’ उनले भने।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए।

‘झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ। यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं,’ श्रेष्ठले भने, ‘निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो । पछिल्ला चार पटकसम्मको सफलतापूर्वक आयोजना गरी सकेपछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तर्किया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।’

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ।

निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत लिने उद्धेश्य राखेको छ ।

विगत वर्षका मेलामा जस्तै यो मेलामा पनि विभिन्न मुलुकहरुबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ।

मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छन्।

नेपाललगायत भारत, चीन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्सलगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहनेछन्।

प्रकाशित मिति: : 2019-07-04 17:22:58

प्रतिकृया दिनुहोस्