बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तिव्र

तस्बिरः एजेन्सी

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन्।

एक आपसमा गाभिनका लागि तयारी गर्ने लक्ष्यका साथ आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आयोजना गरियो । बैठकमा एक आपसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएका थिए।

सोही निर्देशनानुसार वाणिज्य बैंकहरुले मर्जरका विषयमा अनौपचारिक तवरले छलफल तिव्र पारेका हुन् । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । वित्तीय स्थिरताका लागि बैंकको सङ्ख्या घटाउनुपर्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समान धारणा छ ।

गर्भनर डा नेपालकै शब्दमा ‘मौद्रिक नीति अगावै ‘लभ’ गर्नुस्’ । गर्भरनको उक्त आग्रहपछि वाणिज्य बैंकहरु एक आपसमा कसरी मिल्न सकिन्छ भन्नेमा छलफल जारी राखेका छन् । बैंकर्स सङ्घ अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार आज सामान्य छलफल भएको हो ।

त्यसो त यही असार १२ गते केन्द्रीय बैंकले वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सम्मिलित छलफल कार्यक्रम आयोजना गरेर मौद्रिक नीति अगावै मर्जरको विषयमा आवश्यक निर्णय गर्न आग्रह गरेको थियो।

मर्जरमा जान वाणिज्य बैंक तयार भए पनि उनीहरुले केही सुविधा राष्ट्र बैंकले दिनुपर्नेमा एकमत देखिएका छन् । बैठकमा सहभागी एक बैंकरका अनुसार केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्न आफूहरु तयार रहेको तर केही सुविधा भने उपलब्ध हुनुपर्नेछ । आजको बैठकमा समेत केन्द्रीय बैंकको निर्देशनलाई कार्यान्वयन गर्दै मौद्रिक नीति अगावै केही सैद्धान्तिक सहमति गर्ने विषयमा छलफल भएको बताइन्छ । वाणिज्य बैंकबीच हुन लागेको गाभिने प्रक्रियालाई राष्ट्र बैंकले ‘बिग मर्जर’को संज्ञा दिएको छ ।

प्रकाशित मिति: : 2019-07-02 21:34:07

प्रतिकृया दिनुहोस्