चीनको गरिबी निवारण प्रतिष्ठानद्वारा तीन करोड जनतालाई सहयोग

तस्बिरः एजेन्सी

करिब ३० वर्ष पहिले स्थापना गरिएको चीनको गरिबी निवारण प्रतिष्ठानले अहिलेसम्म तीन करोड नागरिकलाई गरिबीबाट माथि उठ्नका लागि विभिन्न प्रकारका सहयोग गरेको उक्त संस्थाले जनाएको छ।

प्रतिष्ठानले सन् २०१८ को अन्त्यसम्म पाँच अर्ब ८५ करोड युआन (८७ करोड १० लाख अमेरिकी डलर) नगद तथा गरीब परिवार लक्षित कार्यक्रममार्फत सहयोग पुर्‍याएको संस्था सम्वद्ध स्रोतहरूले जनाएका छन् ।

प्रतिष्ठानले साना तथा घरेलु उद्योगको स्थापना गरी उनीहरूको आर्थिक अवस्था सुधार तथा जनताको आम्दानी बढाउनेजस्ता कार्यक्रममार्फत गरिब जनतालाई सेवा पुर्‍याएको बताइएको छ । उक्त संस्थाले सन् २०१५ पछि शुरू गरी हाल इ–कमर्समार्फत करिब १६ हजार कृषकलाई उनीहरूका उत्पादन विक्री गर्नका लागि सहयोग पुर्‍याउँदै आएको छ।

यस कार्यक्रममा संस्थाले एक करोड १० लाख ६७ हजार युआन खर्च गरेको पनि बताइएको छ । प्रतिष्ठान अन्तर्गत रहेर सञ्चालित स्थानीय पर्यटन विकास कार्यक्रमबाट करिब ५९ हजार जनताले नियमित लाभ लिँदै आएका संस्थाले जनाएको छ।

यस्तै कृषकलाई फाइनान्सका माध्यमबाट उत्पादनयोग्य खर्चका लागि ऋण स्वरूप ४० अर्ब ४० करोड युआन कृषका लागि प्रबाह गरेको छ । प्रतिष्ठानको सर्वभन्दा आकर्षक मानिएको ‘लभ प्याकेज’ गरिब जनतालाई गरिबीबाट माथि उकास्नका शिक्षा लगायतका क्षेत्रमा दिइँदै आएको छ । यस कार्यक्रम अन्तर्गत ३७ लाख छ हजार व्यक्तिबाटसन् २०१८ को अन्त्यसम्म ६७ करोड ७० लाख युआन उठाइएको छ । सम्पन्नबाट सहयोग लिएर विपन्न वर्गलाई सहयोग गर्ने यो कार्यक्रम गरिबी निवारणका लागि अर्को सशक्त माध्यम बनेको छ ।

प्रकाशित मिति: : 2019-04-06 23:09:06

प्रतिकृया दिनुहोस्