कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख छ। कटौतीमा पर्ने सबै कर्मचारीलाई अवकाश प्याकेज उपलब्ध गराइने छ। टोरन्टो नजिक ओशावामा रहेको जनरल मोटर्सको प्लान्टबाट पनि जनरल मोटर्सले सन् २०१९ को अन्त्यदेखि २ हजार ५०० भन्दा बढी कामदार कटौती गर्दैैछ।
युनिफर युनियनका अध्यक्ष जेर्री डायसले ट्वीटमा भनेका छन 'म फिएटको निर्णयबाट निकै दुःखी छु।' उनले एफसीएसँग तत्कालै आपतकालीन बैठक गर्नु आवश्यक रहेको समेत बताएका थिए। विन्डसरस्थित क्रिस्लरको प्लान्टमा करिब ६ हजार १०० कामदार छन्। यस प्लान्टबाट क्रिस्लर प्यासिफिका र डज ग्रान्ड काराभान नामको मिनिभ्यान उत्पादन हुने गर्दछ।
फिएट क्रिस्लरले गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकाको 'मोटर नगर' नामबाट चिनिने डेट्रोइटमा नयाँ कार प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो। करिब ४ अर्ब ५० करोड डलरमा निर्माण गरिने नयाँ प्लान्टले झण्डै ६ हजार ५०० लाई रोजगारी दिने बताइएको छ।