इन्टरनेटको माध्यमबाट डिजिटल अडियो सिग्नल प्रशारण गरी सञ्चालन गरिने रेडियोलाई अनलाइन रेडियो वा इन्टरनेट रेडियो भनिन्छ। रेडियो भनेको ध्वनि तरंगलाई बिद्युत-चुम्बकीय तरंगमा रुपान्तरण गर्ने प्रबिधि हो। यस्तो तरंगलाई फ्रिक्वेन्सी भनिन्छ र यसलाई हर्जमा नापिन्छ।यस्तो फ्रिक्वन्सी एन्टिनासहितको ट्रान्समिटर प्रयोग गरी ३० हर् देखि ३०० गिगा हर्जसम्म उत्पादन गर्ने गरिन्छ।यसरी उत्पादन गरिएको बिद्युत-चुम्बकीय तरंगलाई टाढा बसेर डिमोडुलेटरको प्रयोग गरी पुनः ध्वनि तरंगमा रुपान्तरण गरी सुन्न सकिन्छ ।
इन्टरनेट रेडियो, नेट रेडियो, आइपी रेडियो, वेव रेडियो वा अनलाइन रेडियो जे नाम दिए पनि यस्ता रेडियो सञ्चालन गर्न कुनै फ्रिक्वेन्सी जेनेरेट गर्नुपर्दैन।तर पनि फ्रिक्वेन्सी रेडियोमा जस्तै इन्टरनेटको प्रयोगबाट कार्यक्रम सञ्चालन गर्न, समाचार प्रशारण गर्न, गीत बजाउन मिल्न भएको हुदा यस्तो प्रविधिलाई पनि रेडियो नै नाम दिइएको हो।
हामीले सुन्ने एफएम रेडियोमा जस्तै अनलाइन रेडियोमा पनि कार्यक्र प्रशारण गर्न मिल्छ। तर, यस्ता अनलाइन रेडियो सुन्न भने रेडियो सिग्नल रिसिभर नभई इनटरनेट जोडिएको डिभाइस जस्तै: ल्यापटप कम्प्युटर, मोबाइलफोन आवश्यक पर्छ।इन्टरनेटको माध्यमबाट प्रशारण गरिने हुँदा यस्ता रेडियो विश्वको जुनसुकै ठाउँमा बसेर पनि सुन्न सकिन्छ।यही पहुँचकै कारण आजभोलि रेडियो स्टेसनले अनलाइनमा पनि रेडियो प्रशारण गर्ने चलन ब्यापक बन्दै गएको छ।
चर्चित चर्चित रेडियो कार्यक्रम प्रस्तोताहरू पनि आफूलाई हिजोआज रेडियोमा मात्र सीमित राख्न चाँहदैनन्। उनीहरू अनलाइन रेडियोतिर पनि आकर्षित हुदै आफ्नो पहुँच बढाउँन चाहिरहेका छन्।रेडियो कान्तिपुरकी कार्यक्रम सञ्चालिका सबिना कार्कीे एप्पलको पोडकास्टमार्फत आफ्ना कार्यक्रम सुनाउँछिन् । उनले यस पोडकाष्टलाई सब्सकाष्ट नाम दिएर आफ्ना कार्यक्रम र आफ्नो आवाजलाई विश्वभरका नेपालीभाषीमाझ लोकप्रिय बनाएकी छिन्।'मेरो कथा' नामको लोकप्रिय रेडियो कार्यक्रमका सञ्चालक डियर कल्याण युट्युब प्रबिधिलाई पछ्याइरहेका छन्।अमेरिकामा रहेका उनी हिजोआज आफ्नो अफिसियल युट्युब च्यानलबाट कार्यक्रम प्रसारण गर्छन्।
अनलाइन रेडियोको सुरुवात सनं १९९३ बाट भए पनि नेपाली समुदायमा यसको पुहँच र ब्यापकता केही समययता मात्र हुन थालेको हो। खासगरी बैदेसिक रोजगारी, बैदेसिक अध्ययन, बिकसित देशप्रतिको मोहका कारण नेपाली डायस्पोरा बढ्न थालेपछि अनलाइन रेडियोको प्रयोग बढ्न थालेको हो। आज नेपाली भूगोलका जिल्ला, प्रदेशमा मात्र सीमित नभई विश्वभर छरिएका छौं। बढ्दो व्यस्तताका कारण टेलिभिजनको लोकप्रियता घट्दो छ। हातमा भएको मोबाइलमा काम गर्दै होस् वा फेसबुक चलाउदै सजिलै सुन्न सकिने भनेकोले पनि अनलाइन रेडियो लोकप्रियताको शिखर चढ्दैछ।
अनलाइन रेडियो, रेडियो प्रशारकको आईपी एड्रेससहितको पोर्ट नम्बरबाट सुन्न सकिन्छ।पोर्ट नम्बरसहितको आईपी एड्रेस लामो र सम्झिन गाह्रो हुने हुँदा प्रसारकले बेवसाइटमा इम्बेड गरेर वा मोबाइल एप्समा राखेर सजिलै सुन्न मिल्ने बनाइएको हुन्छ। बेलायतको स्ट्यान्फोर्डबाट प्रसारण हुने बी.एफ.बी.एस. गोर्खा रेडियो फोर्स डट नेट, रेडियो नेपाल यसको वेबसाइट रेडियो नेपाल डट गोभ डट एनपी बाट सुन्न सकिन्छ। बेवसाइटबाट एउटा मात्र रेडियो सुन्न सकिने हुँदा यसलाई बिभिन्न एप्स निर्माता कम्पनीलेरेडियो सेटमा जस्तै एउटै एप्सबाट धेरै रेडियो सजिलै सुन्न मिल्ने बनाएका छन्।नेपालीमाझ चर्चित एप्स 'हाम्रो पात्रो' मा पनि धेरै नेपाली अनलाइन रेडियो सुन्न सकिन्छ।
नेपालमा अनलाइन रेडियो प्रशारण अनुमति सूचना विभागले दिने गर्छ।यस्तो अनुमति लिन कम्पनी रजिस्टारको कार्यालय, आयकर कार्यालयमा दर्ता गरी बिधिपूर्वक सूचना बिभागमा निबेदन दिनुपर्छ।तर, नेपालबाट प्रसारण हुने कति अनलाइन रेडियोले अनुमति नै नलिई प्रशारण गर्दैआएका छन्।
अनलाइन रेडियोमा गीत/संगीत प्रशारण गर्न संगीत रोयल्टी संकलन समाज (एम.आर.सि.एस.एन.) को अनुमति लिनुपर्छ।यो नेपाली संगीतकर्मीको साझा संस्था हो।यसरी श्रष्टाको वौद्धिक सम्पति प्रयोग गरेबापत प्रशारण गरिएका गीत/ संगीतको अभिलेख राखी संस्थामा रोयल्टी पनि बुझाउनु पर्छ। तर, यो प्रावधान पनि अनुगमन नहुँदा ब्यवहारमा त्यति लागु भएको छैन।
राम्रा कार्यक्रम उत्पादन गर्न सक्ने क्षमता भएका रेडियो जकीले यस्ता अनलाइन रेडियो सानो लगानीमै सुरु गर्न सक्छन्। अनलाइन रेडियो आम्दानीको राम्रो श्रोत पनि हुन सक्छ।इन्टरनेट रेडियोको पहुँच विश्वव्यापि भएको हुँदा यसका श्रोता पनि अधिक हुन्छन्।वेबसाइट तथा रेडियो एप्समा गुगल एड्स, फेसबुक अडिएनस नेटवर्कका साथै अन्य यस्तै एडभर्टाइज कम्पनीका बिज्ञापन देखाएर तथा ठूला ठूला कम्पनीमार्फत कार्यक्रम स्पोन्सर गराएर अनलाइन रेडियोले आम्दानी गर्ने गरेका छन्।
अनलाइन रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने रहर वा करियर बनाउन चाहने जो कोही ब्यक्तिले पनि सामान्य उपकरणको सयहायताबाट सजिलै आफ्नो रहर पूरा गर्न वा करिअर बनाउँन सक्छन्।यस्तो काम प्राबिधिकको सहयोगमा वा आफै सामान्य अध्ययन गरेर पनि गर्न सकिन्छ।
यसका लागि प्राथमिक साधन भनेको इन्टरनेट जोडिएको कम्प्युटर हो। कम्प्युटरमा आवाज रेर्कड गर्न एडोबि एडिसन र एम.पी.३ फाइल बजाउन विनएम्प प्रोग्राम लोकप्रिय छन्। त्यसैले यी दुई सफ्टवेयर चलाउन सिक्न जरुरी छ।
उच्च क्वालिटीको आवाजका लागि स्टुडियो निमार्ण गर्न पनि सकिन्छ।स्टुडियो निर्माण गर्न एकस्टिकसहितको कोठा, अडियो मिक्चर माइक्रोफेन, टेबुल, कुर्सी, माइक स्ट्यान्ड, आबश्यक पर्छ। सामान्य अनलाइन रेडियो सञ्चालन गर्न स्टुडियो आवश्यक पर्दैन।बोलेको आवाज रेकर्ड गर्न वा प्रत्यक्ष प्रशारण गर्न माइक्रोफोन र अडियो एम्प्लिफाएर आवस्यक पर्छ। यदि उपलब्ध छैन भने राम्रो गुणस्तर भएको हेडफोन पनि प्रयोग गर्न सकिन्छ।अर्थात्, क्म्प्युटर, इन्टरनेट, स्पिकर सिस्टक, हेडफोन, सफ्टवेयर (एडोबि एडिसन र विनएमप) छ भने अनलाइन रेडियोको सुरुवात गर्न सकिन्छ ।
अनलाइन रेडियो प्रसारकले बजाएको आवाज सबैभन्दा पहिले इन्टरनेट सर्भरमा पठाउनु पर्छ। सर्भरमा आवाज पुगेपछि विश्वभरका इन्टरनेट प्रयोगकर्ताले इन्टरनेट ब्राउजर वा मोबाइल एप्स प्रयोग गरी सुन्न सक्छन्।यस्तो सेवा लिएबापत इन्टरनेट सर्भर सेवा प्रदायकलाई शुल्क बुझाउनुपर्ने हुन्छ।यस्तो किसिमको इन्टरनेट सेवालाई सटकाष्ट होस्टिङ भनिन्छ।
सटकाष्ट होस्टिङ सेवा भोजकाष्ट डटकम, सटका डट एसटी, सटकाष्ट डट कम जस्ता थुप्रै साइटले उपलब्ध गराउछन्।नेपालमा पनि यस्तो सेवा उपलब्ध गराउने कम्पनीहरु खुलेका छन्।नीतिहरुले विदेशमा रहेका ठूला सर्भरबाट ठूलो मात्रामा ब्यान्डविथ खरिद गरी बेच्ने गर्छन्।नेपालमा यस्तो सेवा आइटेक नेपाल डटमक, सफ्ट नेप डटकमले उपल्ब्ध गराउदै आएका छन्।
अनलाइन रेडियोको लागि सटकाष्ट होस्टिङ छनौट गर्दा एकैपटकमा कति जनाले सुन्न सक्ने, मासिक कति डाटा व्यान्डविथ आवश्यक पर्ने, कति घण्टा अनलाइन रहने, कति के.वी.पी.एस.मा डाटा ट्रान्सफर हुने, कस्तो किसिमको कन्ट्रोल प्यानल, अटो डिजे, डाटा स्टोरेज क्यापासिटीलगायतका कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
सकेसम्म एकै समयमा धेरै जनाले सुन्न सक्ने होस्टिङ छान्नु पर्छ। कतिपय कम्पनीले जतिजनाले पनि एकैपटकमा सुन्न सक्ने सुबिधा दिन्छन् भने कतिले १०, २०, ५०, १०० जनाले मात्र सुन्न सक्ने अप्सन दिन्छन्।डाटा ट्रान्सफर रेट बढी भएको राम्रो हुन्छ।अहिले चलनचल्तीमा रहेका २४ के.वी.पी.एस., ५६ के.वी.पी.एस., १२८ के.वी.पी.एस.मध्ये १२८के.वी.पी.एस. सबैभन्दा राम्रो हो।यस्तो होस्टिङमा उच्च क्वालिटीको साउन्ड पठाउन सकिन्छ।अन्य कन्ट्रोल प्यानलभन्दा क्यान्टोभा काष्ट बढी लोकप्रिय छ।
अडो डिजे भनेको कम्प्युटरबिना नै क्लाउडमा कार्यक्रम अपलोड गरेर रेडियो जस्तै बजाउन सकिने प्रविधि हो।हिजोआज यो प्रविधि पनि धेरै नै चलनचल्तीमा छ।
जुनसुकै कम्पनीमा सटकाष्ट होस्टिङ गरे पनि तिनीहरुले आईपी एड्रेस, पोर्ट नम्बर, युजर नेम र पासवर्ड उपलब्ध गराउँछन्।यी बिबरणलाई कम्प्युटरमा अनलाइन स्ट्रिमिङ गर्ने सफ्टवेयरमा सेटिङ गर्नुपर्छ। यसको लागि सिम्पलकास्ट नामको सफ्टवेयर बढी प्रचलनमा छ।यो चलाउन पनि सजिलो छ। सिम्पलकाष्टमा सर्भरको डिटेल बिबरण राखिसकेपछि उक्त कम्प्युटरमा बजेका सम्पूर्ण अडियो सर्भरमा पुग्छन्।यसरी एउटा कम्प्युटरबाट प्रसारण गरेर विश्वभर इन्टरनेट जोडिएका डिभाइसमा रेडियो प्रसारण गर्न सकिन्छ ।