फेसबुकद्वारा आफ्नै डिजिटल मुद्रा 'लिब्रा' ल्याउने घोषणा : चल्ला त ?

फेसबुकको डिजिटल मुद्रा 'लिब्रा' चल्ला त ? तस्बिर : फेसबुक

सामाजिक सञ्जाल फेसबुकले अर्को वर्षदेखि आफ्नै डिजिटल मुद्रा सुरु गर्ने भएको छ। 

लिब्रा नाम दिइएको डिजिटल मुद्रामार्फत् उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सकिने फेसबुकले जनाएको छ । 

इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने जो कोहीले पनि लिब्रा प्रयोग गर्न सक्नेछन्। उसले भिसा र उबरलगायतका कम्पनीले पनि निकट भविषयमै लिब्रा स्विकार गर्न सक्ने जनाइएको छ । 

फेसबुकले मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भनेर लिब्रा प्रचलनमा ल्याउन लागेको फेसबुकले जनाएको छ । उसले लिब्राबाट भुक्तान गर्न 'न्यूनदेखि शून्य' खर्च हुने पनि जनाएको छ । 

फेसबुकले भनेको छ- 'कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं। जस्तो: एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने।'

फेसबुकले लिब्रालाई खासमा ब्याङ्क खाता नहुने विश्वका १.७ अर्ब युवालाई लक्षित गरिएको बताएको छ। उसले भनेको छ - 'यसलाई विश्वव्यापी बनाउन प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने छ।'

यसअघि पनि फेसबुकले सामाजिक सञ्जालमा एप्समार्फत सामग्री किन्ने प्रयोजनका लागि 'फेसबुक क्रेडिट्स' सुरु गरेको थियो । तर, यो  दुई वर्ष पनि नटिकी बन्द भयो । 

डिजिटल मुद्राका आलोचकले भने यस्तो मुद्रा अस्थिर हुनसक्ने बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: : 2019-06-20 02:02:22

प्रतिकृया दिनुहोस्