रेखाको 'पछ्यौरी भिजायो, सिमसिमे पानीले..'सार्वजनिक

तस्बिरः बिएल

'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा' गीत गाएर अमर श्रष्टाको शृंखलामा परेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत 'पछ्यौरी भिजायो, सिमसिमे पानीले...' सार्वजनिक गरेकी छिन्।

हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेम-प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ। आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र स्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाह बताउँछिन्। भन्छिन्, 'सिमसिमे पानीमाबाट सुरु भएको मेरो संगीतको यात्रा फेरि अर्को पानीकै विम्ब भएको गीतमा आइपुगेको छ। यो संयोग मात्र भए पनि गीत राम्रो भएकाले यो गीत गीतबाट मा धेरै आशावादी छु।'

विभिन्न शैलीका गीतमा संगीत सृजना गरिरहेका अहिलेका चर्चित संगीतकार हरि लम्साल भन्छन्, 'मैले यो गीतमा भएका प्रेमिल टिपिकल शब्दलाई लोक संगीतसंग नजिक रहेर फ्युजन गर्ने कोसिस गरेको छु। मेरा लागि पनि यो नौलो धून हो।'

गीतकार भूपेन्द्र खड्का भन्छन्, 'हामीले सधैं गीतमा नारी सौन्दर्यका कुरालाई बयान गर्थ्यौ, यसपालि नारीका आँखाबाट पुरुषको प्रेम र प्रेम-चरित्रबारे गीत लेख्ने कोसिस गरेको छु। यो गीत नयाँ थिमको मात्रै छैन, साँच्चै रोचक पनि छ।'

गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत तहल्कामच्चाइहेकी मोडेल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन्।

१५ वर्षको उमेरमा 'सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा..' बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २७ वर्ष लगानी गरिसकेकी छिन्। लोकगीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिंदै छ। चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीतको सिनियर डिप्लोमा तहको गायन अभ्यास गरिरहेकी उनले गत वर्ष 'जेन्डरस्टडी'मा त्रिभुवन विश्वविधालयबाट स्नातकोत्तर तहको औपचारिक अध्ययन पूरा गरेकी छिन्।

समाज सेवामा समेत सक्रिय गायिका शाहका आधा दर्जन गीति एल्बम प्रकाशित छन्। यो गीत उनको आफ्नै युट्युभ च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2019-11-06 21:44:48

प्रतिकृया दिनुहोस्