राजेशपायलको त्यो बैठककोठा

सम्झनामा 'राई इज किङ्ग'का सम्मान र मायाका प्रतीकहरू । प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

‘कसैले भित्तामा काँटी ठोक्दा नि छातीमै मार्तोल बज्रे झैं हुँदोरहेछ’

पहिलोपल्ट घर किनेपछि गायक राजेशपायल राई यसै भन्थे । ठ्याक्कै यही नहोला तर यस्तै आशयको शीर्षकसहित ‘नागरिक दैनिक’मा राईले घर प्रसंगबारे खुलेर अन्तर्वार्ता दिएका थिए । 

अहिलेका फिल्म निर्देशक र त्यसबेलाका रंगपत्रकार दीपेन्द्र लामासँगको अन्तर्वार्तामा राजेशपायलले ‘गाएर कमाउनु, कमाएको जोगाउनु र जोगाएकोले घर किन्नु सजिलो काम नभएको’ अझै सम्झना छ । 

यो सन् २००९ ताकाको कुरा हो । 

त्यो घर बाहिरबाट झट्ट हेर्दा विशेष केही थिएन । उचाईको कुरा गर्ने हो भने, अरु अग्ला घरका बीचमा अढाई तलामा सीमित थियो । सौन्दर्य पनि खास लाग्थेन । औसत डिजाइनको सेकेण्ड ह्याण्ड । फरक यति थियो, त्यो राजेशपायल राईले ‘गाएरै किनेको’ घर थियो । 

चर्चा र विवाद दुबै कमाएको ‘राई इज किङ’ एल्बम निस्कने समयमै राजेशपायलले घर किने झैं लाग्छ । 

त्यसैले, त्यहाँ पुग्ने केहीलाई राजेशपायलका सहयागीले हाँस्दै स्वागत गर्थे– ‘वेल कम टु राई इज किङ हाउस ।’ 


०००

‘घरको मूल्य कति पर्यो ?’ 

त्यसबेला धेरै रंगपत्रकारले सोधेको यो प्रश्नको जवाफमा गायक राजेशपायल कुटनीतिक जवाफ दिन्थे, ‘अहिलेसम्म गाएर कमाएको सबै ।’ 

मैंले नजिकका सहयोगीमार्फत बुझ्दा ३५/४० लाख रुपैयाँमा किनिएको रहेछ त्यो घर । एउटा विशुद्ध कलाकारका लागि एक दशकअघि चानचुने रकम थिएन त्यो । त्यति रकम जोहो गरेर काठमाडौंमा घर किन्न राजेशपायलले त्यसअघिका १०/१५ बर्ष गायनमा संघर्ष गर्दै सफलता प्राप्त गरेका थिए । 

अर्थात्, मेरो समयका चर्चित गायक राजेशपायलले पनि सजिलै घर जोडेका होइनन् । श्रोता र दर्शक नचाउन जति गला निखार्नुपर्छ, दर्शक नचाउन त्यति नै स्टेजमा जुत्ताका तलुवा फटाउनुपर्छ । त्यसका उनी भुक्तभोगी हुन् । 

काठमाडौंको शान्तिनगरस्थित ओम शान्तिचोक । चोकको छेउमै थियो गायक राजेशपायलको घर । उनी त्यहाँ बस्न थालेको एक दुई महिनामै टोलवासीले ‘उ त्यही हो राजेशपायल राईको घर’ भनेर औंलाले देखाउने भइसकेका थिए । 

आफ्नो टोलमा चर्चित कलाकार बस्न आइपुग्दा कसले पो नचिनोस् ।

यो पनि हेर्नुहोस् 
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः

०००
‘ल अब रापाराको अन्तर्वार्ता गर्नुपर्यो’ 
‘कान्तिपुर’मा कसैले मलाई भन्यो । सायद, ‘साप्ताहिक’तिरका सहकर्मीले हो कि ? 
‘होइन को हो रापारा ?’ मैंले नजानेर/नचिनेर सोधें । 
‘थैट्, इन्टरटेन्मेन्ट बिटमा काम गर्ने, रापारा नचिन्ने ?’ ती सहकर्मीहरुले ठट्यौलीसहित चिनाए, ‘राजेशपायल राईको सर्ट फम– रापारा ।’ 

म त्यसबेला कान्तिपुर पब्लिकेशसन्समा काम गर्थें । दार्जिलिङबाट कार्यक्षेत्र परिवर्तन भएर भर्खरै काठमाडौं सरेको थिएँ । जिम्मेवारी थियो, ‘कान्तिपुर दैनिक’का लागि मनोरञ्जन सामग्री लेख्ने । गायन, नाटक, सिनेमा आदि क्षेत्रमा आवद्ध कलाकार भेट्नु पर्थ्यो । कहिले घरमै, कहिले बाहिर । 

ती ‘रापारा’ चिनाउने सहकर्मीबाटै नम्बर लिएँ । अनि, त्यसै साता राजेशपायल सँग फोनमा कुरा भयो । अन्तर्वार्ताको दिन र समय तोकियो । डेस्कमा सल्लाह भयो । 

पाठकले कलाकारको निजी कुरा जान्न चाहने हुनाले ‘विवाह विषय’मा केन्द्रित भएर अन्तर्वार्ता गर्ने टुंगो भयो । किनकि, विवाहको औसत उमेर बित्नै लाग्दासमेत राजेशपायलको विवाह भएको थिएन । 

सुविधानगरस्थित तीनकुनेमा कान्तिपुर पव्लिकेशन्सकै पछाडि बस्थें म । त्यहाँबाट क्यामेरा, डायरी र रेकर्डर बोकेर निस्किएँ । आधा घण्टा नहिँड्दै ओम शान्तिचोक पुगियो । त्यहाँ पुगेर कसैलाई सोध्नसाथ उसले औंलाले इशारा गर्दै भन्यो, ‘ऊ त्यही त हो राजेशपायलको घर ।’ 


०००
‘वेलकम टु राई इज किङ हाउस्’ 
माथिबाट ढोकामा लिन आउने सायद विनोद खम्बु थिए । जो आफ्नो सांगीतिक रुचि पूरा गर्न राजेशपायलका सहयोगी हुँदै हाल संगीतकारका रुपमा परिचित छन् । उनी त्यही घरमा बस्थे । 

खम्बुलाई पछ्याउँदै एक तलामाथि पुगियो । जुत्ता बाहिर खोलेर भित्र पस्दा थाहा भयो, देश विदेशमा सबैभन्दा धेरै स्टेज प्रोग्राम गर्ने र ‘सर्वाधिक कमाउने’ राजेशपायलको बैठककोठा रहेछ । 

अझै सम्झन्छु, सुरुमा म ट्वाँ नै परें । त्यसअघि मैंले कुनै कलाकारको त्यत्रो विधि ‘सम्पत्ति’ देखेको थिइनँ । जुन स्वभाविक पनि थियो । किनकि, कलाकारसँग भेट्ने कामै पर्थेन । नेपालमै पनि त्यत्तिका ‘सम्पत्ति’ भएका र भित्तामा सजाएका कलाकार त थिए होलान्, जो मैले नदेखेको हुँदो हुँ । 

आफू बसेको सोफातिरको भित्ताबाहेक तीनैतिर सम्मान र प्रशंसापत्र । पत्रपत्रिकामा प्रकाशित अन्तर्वार्ता र स्टोरीका कटिङ । एफएम र टेलिभिजनबाट प्राप्त अवार्ड नै अवार्ड । मायाका चिनो त झन् कति कति । बुके, खादा र माला उत्तिकै । हारमोनियम राखेको एउटा लो-बेड । 

माथिल्लो तलाबाट राजेशपायल ओर्लिए र त्यो लो-बेडमा हारमोनियको नजिक बसे । 

मैले अन्तर्वार्ता दिन तयार गायकलाई भन्दा भित्ताका ‘सांगीतिक सम्पत्ति’लाई बढी हेरेको खम्बुले पत्तो पाएछन् । 

‘बैंठककोठामा ठाउँ नभएर सजाउन बाँकल अझै बहुत चीज छन्’ खम्बुले मेरो ध्यान खिच्दै भने, ‘बरु अन्तर्वार्ता सकेर ती पनि हेरौंला ।’ 
०००

‘गायक राजेशपायल राईको घरमा आगजनी, बैठककोठाका सामान जलेर खरानी’

टोरन्टोको सडकमा कतै गुडिरहँदा मोवाइलमा नोटिफिकेसन आयो । यो खबर मन अमिलो बनाउने थियो । कफी सपमा रोकिएर फेसबुकमा राजेशपायललाई सर्च गरें । सधैं जस्तै विदेशतिर सांगीतिक यात्रामै व्यस्त रहेछन् । 
दुई दिनअघि सामाजिक सञ्जालमा यस्तो शीर्षक देख्दा बहुतै नमिठो लाग्यो । अर्कै खालको नमिठो । हुन्छ नि कहिलेकाहीँ, ‘थुक्क साला...’ भनेजस्तो । युट्युबमा आइरहने भिडियोले झनै दिक्दार बढाइरहेको छ । नहेरौं मन मान्दैन, हेरौं मन अमिलो हुन्छ । 

आफू प्रत्यक्ष पुगेको कोठा आगजनी भएर मात्रै त्यस्तो लागेको होइन । भेट हुँदा हितचित् मिल्ने गायकको घरमा आगलागी भएर मात्रै दुःख लागेको होइन । त्यस्तो घर फेरि जोड्न सक्दैनन् भनेर पिरोलिएको पनि होइन । 

एउटा कलाकारले जीवनभर कमाएको ‘सांगीतिक सम्पत्ति’ एकैपल्ट स्वाहा हुँदा चाहिँ दुखेको हुँ । संघर्षका दौरानमा प्राप्त गरेका अवार्ड, पुरस्कार, चिनो जल्दा पिल्सिएको हुँ । ती सामग्री उनले अब कहिल्यै सद्दे भेट्दैनन् भनेर एक दशकदेखि कुराकानी नभएका राजेशपायललाई सम्झिएको हुँ । 

घर त उनले अझै थप्लान्, ठूलो कुरै भएन । यु ट्युबबाट यसपल्टै थाहा भो, दुई करोड खर्चेर नक्सालमा नयाँ घर किनिसकेकै रहेछन् । तर, भावनात्मक निकटता चाहिँ पुरानो घरमै बढी रहेछ । 

नयाँ घर किनेपछि दिएको एउटा अन्तर्वार्तामा ‘बिहेपछि बेहुली चाहिँ पुरानै घरमा भित्र्याउने’ भनेका रहेछन् । 

आफ्नी बेहुलीलाई जीवनभर प्राप्त गरेका सांगीतिक उपलव्धि देखाउन त्यो ‘राई इज किङ हाउस’को बैठककोठामा हात समाउँदै घुमाउने मन थियो होला । जुन घरको बैठककोठाको राजेशपायललाई अत्यन्तै माया लाग्थ्यो र भन्ने गर्थे, ‘भित्तामा काँटी ठोक्दा छातीमा मार्तोल बज्रिन्छ ।’ 

प्रकाशित मिति: : 2019-09-18 01:28:18

प्रतिकृया दिनुहोस्