शाहिदको माग बढ्दो, एउटै फिल्मको पारिश्रमिक ४० करोड

‘कबीर सिंह’ को सफलतापछि शाहिद कपुरले आफ्नो पारिश्रमिक बढाएका छन्। उनले आफ्नो आगामी फिल्मका लागि पारिश्रमिक ४० करोड पुर्याएको भारतीय अखबारहरूले जानकारी दिएका छन्। यसअघि चर्चा चलेको थियो, शाहिदले आफ्नो पारिश्रमिक बढाएर ३० करोड गर्ने छन्। तर, उनले अड्कल काटिएभन्दा बढी रकम तोकेका छन्।

यसअघि उनी एउटा फिल्मका लागि १० देखि १५ करोडसम्म लिँदै आइरहेका थिए।

तेलुगु फिल्म जर्सीको रिमेकमा उनी पुनः देखा पर्ने सम्भावना प्रबल छ। शाहिदले यो फिल्मका लागि ४० करोड पारिश्रमिक माग गरेका छन्। जर्सी एक क्रिकेटरको कथामा आधारित फिल्म हो। जो टिममा पुनः स्थान बनाउन संघर्ष गर्दछ।

भावनात्मक यो फिल्मले तेलुगुमा राम्रो प्रभाव जमाएको थियो। फिल्म आलोचकले पनि यो फिल्मको तारिफ गरेका थिए। उनको माग स्विकृत भएको खण्डमा शाहिदको यो दोस्रो रिमेक तेलुगु फिल्म हुनेछ।

‘कबीर सिंह’ यो वर्ष सबैभन्दा बढी कमाइ हुने चलचित्रको सूचीमा उत्कृष्ट ५ स्थानमा प्रवेश गरेको छ।

फिल्मले रिलिजको एक महिनामा २७० करोडको आम्दानी गरिसकेको छ।

प्रकाशित मिति: : 2019-07-24 18:34:02

प्रतिकृया दिनुहोस्