कंगना पत्रकारसँग विवादमा उत्रिएपछि एकता कपुर आपतमा

Agency

कंगना रनोट र राजकुमार राव अभिनित फिल्म ‘जजमेन्टल हे क्या’ फिल्मको पहिलो गीत सार्वजनिक गर्ने क्रममा अभिनेत्री कंगना र एक पत्रकारबीच पुरानो कुरालाई लिएर विवाद बढेपछि एकता कपुरले माफी माग्नु परेको छ।

आइतबार पत्रकार सम्मेलनमा कंगना र जस्टिन राव नाम गरेका एक पत्रकारबीच पुरानो कुरालाई लिएर विवाद भएको थियो। कंगनाले सबैको अगाडि जस्टिनको नाम किटेर उनले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएकी थिइन। यसपछि विवाद बढेको थियो। कंगनाले पत्रकार सम्मेलनमा भनिन्, ‘जस्टिन तिमी त मेरो दुश्मन भएर निस्कियौं यार। नराम्रो कुरा लेखिरहेको छौं। असहज लाग्ने कुरा लेखिरहेका छौं। यति नचाहिँदो कुरा तिम्रो दिमागमा कसरी आउँछ?’

६ मिनेट लामो विवादका क्रममा पत्रकार जस्टिनले आफू माथि कंगनाले लगाएको आरोपको खण्डन गरे। कंगनाले बीचैमा उनलाई रोकेर भनिन्, ‘तिमीलाई मलाई जिंगोस्टिक महिला भनेर सम्बोधन गर्यौ। के त्यो उचित थियो?’

पत्रकार जस्टिनले जवाफमा ‘पावर’ मा बसेर आफूलाई धम्की नदिने आग्रह गरेका थिए। प्रतिउत्तरमा कंगनाले भनिन्, ‘म कसैलाई डर देखाइरहेको छुइन्। तिमीसँग साथीको हिसाबले कुरा गरिरहेको छुँ।’

कंगनाले अन्तर्वार्ताका क्रममा पत्रकार जस्टिन आफ्नो गाडीमा बसेको र सँगै दुवैले खाना खाएको बताइन्। उनले तीन घण्टा आफ्नो अन्तर्वार्ता लिएको तर अन्तर्वार्ता सकिएपछि नकरात्मक समाचार आउन थालेको भन्दै आपत्ति जनाइन्।

यसमा स्पष्टीकरण दिँदै पत्रकार जस्टिनले भने, ‘म तपाईको गाडीमा बसेको पनि छुइन्। तपाईसँग खाना पनि खाएको छुइन्।’

विवाद बढेपछि फिल्मकी निर्देशक एकता कपुरले हात जोडेर मिडियासँग माफी मागिन्। विवादको मुख्य कारण कंगनाको सुपरहिट फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झासी’ बाट सुरु भएको थियो। फिल्म पाकिस्तानमा रिलिज गर्ने विषयमा पत्रकार जस्टिनले प्रश्न उठाएका थिए।

प्रकाशित मिति: : 2019-07-09 14:15:13

प्रतिकृया दिनुहोस्