सार्क जुरी अवार्ड स्वस्तिमाले जितिन्

अवार्डका साथमा स्वस्तिमा

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले सार्क जुरी अवार्ड जितेकी छन्।  श्रीलंकाको नेसनल फिल्म कर्पोरेसको द सिनेमा हलमा सञ्चालित सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ बाट अभिनेत्रीमा स्वस्तिमा खड्काले जुरी अवार्ड जितेकी हुन्।

यसअघि सन् २०१४ मा फिल्म ‘झोला’ का लागि अभिनेत्री गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको सार्क अवार्ड जितेकी थिइन्।

बिदेसिएको पतिको पर्खाइमा टेम्पो चलाएर रोगी ससुरा बाबु र छोरीलाई जेनतेन पालेर जीवन संघर्ष गरिरहेकी महिलाको शीर्ष भूमिकामा रहेकी स्वस्तिमालाई उत्कृष्ट प्रस्तुतिका लागि उक्त अवार्ड दिइएको हो।

त्यसैगरी, निर्देशन र पटकथातर्फको जुरी अवार्ड भारतको फिल्म ‘वाकिङ विथ द विन्ड’ का लागि प्रभ्रेन मोर्चालीले पाए।

असार १७ देखि ६ दिनसम्म चलेको कार्यक्रममा सार्क देशहरू अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका प्रतिनिधि फिल्म तथा सर्ट फिल्महरूको प्रतिस्पर्धा गरेका थिए।

फेस्टिभलमा नेपालका तर्फबाट विनोद पौडेल निर्देशित ‘बुलबुल’ र दिनेश राउत निर्देशित ‘प्रसाद’ प्रतिस्पर्धामा थिए। सफल केसी र प्रतीक गुरुङको निर्देशन रहेको ‘हरी’ अप्रतियोगी मास्टर फिल्मका रूपमा संलग्न थियो।

अविनाशविक्रम शाहको सर्ट फिल्म ‘तटिनी’ ले ‘स्पेसल जुरी रेकोग्निसन’ पाएको छ ।

फेस्टिभलको मुख्य प्रतिस्पर्धातर्फ उत्कृष्ट फिल्मको अवार्ड भारतको ‘नगरकीर्तन’ जित्यो। सर्ट फिल्मतर्फको अवार्ड पनि भारतकै ‘नो बेल वो हराम’ ले पायो ।‘नगरकीर्तन’ बाटै उत्कृष्ट निर्देशकको अवार्ड पनि कौशिक गांगुलीले जिते भने यसै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड रिद्दि सेनलाई प्रदान गरियो । उत्कृष्ट अभिनेत्रीतर्फको सार्क अवार्ड श्रीलंकाको फिल्म ‘दावेना विहागोन’ बाट अना जनादरीले जितिन् ।

सोही फिल्मबाट उत्कृष्ट सम्पादनको अवार्ड पनि जित्दा उत्कृष्ट पटकथाको अवार्ड अफगानी फिल्म ‘लेटर टु प्रेसिडेन्ट’ का लागि अजिज देल्दारले पाए।

उत्कृष्ट छायांकनको अवार्ड बंगालादेशी फिल्म ‘फागुन हावए’ बाट इनामुल हुकी सोहेलले पाए ।

फेस्टिभलमा फिचर र सर्ट गरी ३५फिल्म देखाइएका थिए ।

प्रकाशित मिति: : 2019-07-09 12:38:36

प्रतिकृया दिनुहोस्