मुम्बईको वर्षाका कारण महानायक अमिताभ घरमै फसे

तस्बिरः एजेन्सी

मायानगरी मुम्बईमा विगत पाँच दिनदेखि परिरहेको वर्षाका कारण बलिउड कलाकार घरमै थुनिएका छन्। घरमा थुनिनेमा सबैभन्दा अगाडि बलिउडका महानायक अमिताभ बच्चन रहेका छन्। अमिताभको ‘जलसा’ पुरै जलमग्न भएको छ। घरभित्र पानी प्रवेश गरेपछि उनी बाहिर निस्किन सकिरहेका छैनन्।

मुम्बई महानगर निगमले पानी हटाउने कामलाई तीब्र पारेको भारतीय अखबारहरूले जनाएको छ।

अमिताभ मात्र होइन, पानीका कारण अन्य कलाकार पनि घरमै थुनिएका छन्। अभिनेत्री सोनम कपुरले ट्वीटमार्फत विमानको जानकारी मागेकी थिइन। जसको उत्तर ‘दे दे प्यार दे’ का अभिनेत्री रकुल प्रीतले दिएकी छिन्। उनले रातीदेखि नै मुम्बईको उडान रद्द भएको जानकारी ट्वीटमार्फत सोनमलाई दिएकी थिइन। उनले आफू विमानस्थलमै भएको बताएकी थिइन।

यस्तै, टिभी अभिनेत्री क्रिस्टल डिसुजाले पानीका कारण मोहब्बतेका अभिनेता करण पटेलको घरमा शरण लिएको बताएकी थिइन। महाराष्ट्रमा परेको अत्याधिक पानीका कारण २४ घण्टामा ३२ जनाले ज्यान गुमाइसकेका छन्। राज्य सरकारले मंगलबार स्कुल, कलेज र कार्यालय बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2019-07-02 16:43:32

प्रतिकृया दिनुहोस्