लाेकगायिका जेरीको स‌घर्ष कथा: सडकपेटीदेखि दोहारीसाँझसम्म

तस्बिरः बिएल

आफ्नो भन्ने कोही थिएन काठमाडौंमा । भविष्यको सपना बुन्दै राजधानीको यात्रा । एकाएक घरबाट निस्केपछि यहाँ भएका आफन्तले पनि उनको निर्णयलाई स्वकारेनन् । परिवारले भनेको बाटोभन्दा फरक बाटोमा भविष्य खोज्न हिँडेपछि आफन्तजनले पनि साथ छोडे । यसै त गोजीमा पैसा नहुनेहरुका लागि काठमाडौंमा स्थापीत हुन मुस्किल । त्यसैमा पनि छोरी मान्छे ।

गायनमा आफ्नो क्षमता स्थापीत गर्ने सपना बुन्दै काठमाडौं छिरेकी गोरखाकी बबिता बानियाँ (जेरी)का सुरुवाती दिन निकै कष्टकर बिते । परिवारका सदस्यले घरमै बसेर अध्ययनलाई अगाडि बढाउन सल्लाह दिए पनि उनले कलाक्षेत्रलाई नै आफ्नो भविष्य बनाउने निर्णय लिइन् । पारिवारिक साथ नभएपछि काठमडाै‌मा बस्दै आएकी दिदीको आशमा उनी घर छोडेर हिँडिन् ।

तर यहाँ पुगेपछि उनले भनेजस्तो भएन । पढाई छाडेर आएकोले दिदीले पनि घर फर्केर पढ्ने भए पढ नत्र भेट पनि गर्दिन भनेपछि यो बिरानो सहरमा उनी एक्लो भइन् । भर्खर प्लसटु सकेर आएकी बानियाँ किशोरावस्थामै थिइन् । घरबाट जम्मा एघार सय रुपैयाँ साथमा ल्याएकी उनले आफ्नो कोही नहुँदा कतिरात त सडकको पेटीमै सुतेर बिताइन् ।

‘मसँग ११ सय मात्रै थियो, घरबाट हिँड्दा, बाटोमा गाडीका सहचालकलाई आफ्नो स्थिति सुनाएपछि उनले भाडा पनि लिएनन्’ बानियाँले विगत सम्झँदै भनिन्, ‘तर सबैभन्दा दुःख त जसको आशाले काठमाडौं छिरेको थिएँ, उनैले मलाई लत्याइन् । अनि दुःखका दिन सुरु भए ।’

अहिले युवा पुस्तामा उनको राम्रै क्रेज छ । गायन क्षेत्रमा नविन आवाजकी धनि बानियाँ जेरीका नामले चिनिन्छन् । तर यहाँसम्म आउन उनले के सम्म गर्नुपरेन । ‘केही दिनमै गोजीमा भएको रकम सकियो, यहाँ जाने ठाउँ कतै थिएन, दुई हप्तासम्म त सडकपेटीलाई नै आफ्नो घर बनाए’ उनी सम्झिन्छिन्, ‘बिजुलीका पोलमा झुण्ड्यिाइएका उज्याला बत्तिहरुले सुनसान रातमा पनि आशाको किरण झल्काइरहन्थे, मैले तिनै बत्तिको उज्यालोमा आफ्नो सपना बुन्ने मौका पाएँ ।’

कति पटक त उनलाई राती हिड्ने केटाहरुले आफुहरुसँग हिड्न फकाए पनि । यति राम्री मान्छे किन सडकमा हिँडेको हामीसँग हिँड तिमीलाई सहयोग गर्छौ भन्ने भेटिए । तर आफु कुन उद्देश्यका लागि यति दुःख गरिरहेको भन्ने बिर्सन नसक्दा उनीहरुको फकाइमा नपरेको जेरी बताउँछिन् ।

‘देशभर बलात्कारको खबरहरु आइरहन्थे, मलाई त पछि डर लाग्न थाल्यो, राती कोही नभएको बेला अरुको घरको गेट खोलेर पेटीमै सुत्ने गरेँ, आफुलाई सुरक्षित बनाउँन कति रात यसरी नै कटाएँ’ उनी बताउँछिन् ।

केही नभएपछि जागिर खोज्नका लागि काठमाडौंका गल्ली–गल्लीमा भौंतारिइन् । तर गाउँबाट आएकी म्याजिक चप्पल र पुरानो कुर्तामा हुने केटीलाई कसैले जागिर नदिएको उनको अनुभव छ ।

‘यो रेडिमेट सहर हो, यहाँ सोझा र सादा मान्छेहरुलाई कसैले गन्दैन, यहाँ सबै देखावटी गर्नुपर्ने रहेछ । एक पकपटक ठमेलमा साडी किन्न जाँदा पसलवालाले मेरो पहिरन हेरेरै साडी देखाउन मानेन, तर पछि त्यही पसलवालाले ठाँटिए जाँदा भने देखायो’ आफ्नो अनुभव सुनाइन् ।

दिनभरी खाली हुने भएपछि उनले काम खोजिरहेकी थिइन् । बागबजारतिर हिँडिरहँदा उनले कुमार भन्ने व्यक्तिसँग चिनजान गरिन् । उनैले फेन्सी पसलमा काम खोजिदिए । त्यहाँ काम पाएपछि नै उनले आफ्नो कोठामा लिएर व्यवस्थित रुपमा बसिन् । उनी थप्छिन्, ‘मसँग कोठामा सामान किन्ने पैसा पनि थिएन, कुमार दाईले नै चार हजार सहयोग गर्नुभयो । पसलमा महिनाको दुई हजार पाँचसय दिन्थो ।’

पसलमै काम गर्दै गर्दा उनले बागबजारकै दोहोरी साँझमा आफ्नो कला देखाउन प्रयास गरिन् । ट्रायल फेजमा नै राम्रो भएपछि उनलाई सबैले मन पराउन थाले । त्यहाँ उनले तीन हजार पारिश्रमिक पाउन थालिन् । त्यसपछि विभिन्न साना–ठूला महोत्सवहरुमा पनि भाग लिन थालिन् । रेडियो नेपालले आयोजना गरेको दोहोरी प्रतियोगितामा प्रथम पनि भइन् । ‘त्यसबेला जीवनमा पहिलो खुड्कीलो पार गरेजस्तो लाग्यो, सडकमा बिताएका ती दिन सम्झिँदा रुन मन लाग्थ्यो, रेडियो नेपालको दोहारीमा प्रथम हुँदा पहिलो पटक खुशीको आँसु झरेका थिए’ उनले भनिन् ।

सानो विवादमा घरबाट निस्केकी उनलाई आफ्नो भविष्यको यात्रामा निकै दुःख कष्ट झेल्नुप¥यो । ‘सडकमा एक्लै हुन्थे, कसैले केही गरेको भए मेरो हालत के हुन्थ्यो, तर मेरो भाग्यले भनुम् वा अरु कुनै मलाई त्यस्तो अवस्था आइलागेन’ बबिता भन्छिन् ।

अहिले सबैको नजरमा बस्न सफल गायिका जेरी चर्चाकै शिखरमा छिन् । हालसम्म एक दर्जन बढी गितमा आवाज दिइसकेकी छिन् । दोहोरी साँझमा भने उनको क्रेज बढी नै छ । दर्शक र स्रोताको रोजाइमा छिन् । ‘भर्खर सुरुवात भएको छ, अँझै धेरै गर्न बाँकी छ । तर आफुले रोजेकै बाटोमा भविष्य बनाउन मेरो जस्तो परिस्थीति कसैलाई नपरोस्, सबैलाई परिवारको साथ मिलोस् । छोरी मान्छेलाई झन् आफ्नो सपना पुरा गर्न मुस्किलै हुने रहेछ’ जेरी भन्छिन् ।

उनी संगीत क्षेत्रमा विस्तारै व्यवसायी नै बन्ने बताउँछिन् । 

प्रकाशित मिति: : 2019-07-02 14:28:57

प्रतिकृया दिनुहोस्