रिमालको एकल प्रदर्शनी बिहीबारदेखि

आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमाल

काठमाडौं ।

इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमालको एकल कला प्रदर्शनी यही असार ५ गतेदेखि हुने भएको छ ।

 तीस वर्षदेखिका आफ्नो चित्र मूर्तिकला तथा आर्किटेक्चर रेट्रोस्पेक्ट एक्जिबिशन (सिंहावलोकन प्रदर्शनी) मा राख्न लागिएको रिमालले जानकारी दिए। ‘आजसम्म मैले कुनै पनि एकल प्रदर्शनी नगरेकाले यस पटक गर्न लागेको हुँ’, नेपाल कला परिषद्का महासचिव रिमालले भने। आफ्ना काम जनतामा समर्पण गर्ने नै मुख्य उद्देश्य रहेको उनले बताए।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी तथा रिमालको ८५ औँ वर्ष प्रवेशका अवसरमा  निजी आवास नक्साल नारायणचौरस्थित शङ्कर शशि ग्यालरीमा हुन लागेको प्रदर्शनीमा करीब ५० चित्र, एक सय आर्किटेक्चर र २०  मूर्ति राखिने छ।

उनका चित्र मूर्तअमूर्त दुवै खालको पाइन्छ ।  जलरङ, एक्रेलिक, पेन एण्ड इन्क, पेन्सिल, चारकोल र मैन माध्यमबाट बनाइएका उनका चित्रमा आध्यात्मिकता, स्थिर जीवन, यथार्थवादी, मुहारचित्र, न्यूड, फिगरेटिभ  भूदृश्य आदि  भाव  भेटिन्छ। तामा, ढलोट, काँस माध्यमबाट मूर्तिमा  अमूर्त भाव पाइन्छ। नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलबाट प्रशिक्षित उहाँ न्यू आर्ट सर्कलका संस्थापक अध्यक्ष र सोसाइटी अफ मोडर्न आर्टका कार्यकारी सदस्य पनि हुन्।

चार पटक नेपाल इञ्जिनीयरिङ एशोसियशनको नेतृत्व गरेका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रिमालको ‘लुम्बिनी चक्र’ शीर्षक पुस्तक प्रकाशित छ भने ‘श्रीयन्त्र’ र आत्मजीवनी प्रकाशनोन्मुख छन् ।

रिमालले नेपालका महत्वपूर्ण सम्पदामध्ये शहीदढोका, नारायणहिटी दरबारको भूदृश्य वास्तुकला, मङ्गल सदन र नानीगञ्ज, नेपाल प्रज्ञा¬ प्रतिष्ठान, सोल्टी होटल, भरतपुरको दियालो बङ्गला, पशुपतिनाथको उन्मत्त भैरव, देवघाटको नर्मदेश्वर र हरिऔनको चतुर्भुजेश्वर मन्दिर, चन्द्रागिरिको भालेश्वर मन्दिर, सिङ्गापुरमा विष्णु मन्दिर र  अमेरिकामा हिन्दू मन्दिर, हिँड्ने र खुट्टेघर, सिंहदरबारस्थित पहिलेको परराष्ट्र मन्त्रालय भवन, जनकपुर चुरोट कारखाना, जनकपुरस्थित रामानन्द चोकको ढोका, देवघाटको सन्न्यास आश्रम, नक्साल काठमाडौँको रेयुकाइ भवन, स्याङ्जाको गोरखास्मारकलगायत थुपै र निजी भवनको समेत डिजाइन गरेका छन्।

नेपालको राष्ट्रिय झण्डाको स्तरीकरण गरी मापदण्ड उनले नै तयार गरेको हो जुन नेपालको संविधान २०१९देखि हालसम्म कायम नै छ । स्पेस म्यागाजिनको आयोजनामा हुने प्रदर्शनीको उद्घाटन वाङ्मय शताब्दी पुरुष जोशीले गर्नेछन्। जुन चार दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: : 2019-06-19 09:58:11

प्रतिकृया दिनुहोस्