गायिका आनी छोइङ १५ करोड मनी लाउण्ड्रिङमा, अनुसन्धान जारी

फूलको संसारमा फूलै संसार ... पैसाको संसारमा पैसै संसार । तस्बिर : आनी छोइङ

नेपालकी मन्त्र गायिका आनी छोइङ डोल्मामाथि मनी लाउण्ड्रिङको अनुसन्धान भैरहेको समाचार सार्वनिक भएको छ। एक वर्षदेखि भैरहेको अनुसन्धानलाई गोप्य राख्न अनेक प्रयत्न गरे पनि अन्तत: त्यो सफल नभएर बाहिरिएको हो । 

उनको नाममा  स्रोत नखुलेको  १५ लाख अमेरिकी डलर मेगा बैङकमा आएपछि उनीमाथि अनुसन्धान सुरू भएको हो । उनलाई  हङकङको 'एसेट म्यानेजमेन्ट कम्पनी' मा कार्यरत एक ब्यक्तिले यो पैसा पठाइ दिएका थिए ।

उनका  नाममा एकै पटक यति ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगा बैंकले राष्ट्र बैंकमा रहेको 'वित्तीय जानकारी इकाइ' लाई खबर गरिदिएको थियो।  त्यसमा उसलाई शंकास्पद लागेमा थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभागलाई जिम्मा दिन्छ। अहिले विभागले पैसाका बारेमा अनुसन्धान गरिरहेको छ।

आफ्नो १५ करोड पैसा मेगा बैङ्कमा फ्रिज भएपछि आनीले प्रधानमन्त्री केपी ओलीको 'तुइन विस्थापन कार्यक्रम'लाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन्। उनले त्यो रकम नेपाल टेलिभिजनबाट प्रसारण हुने 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन्।

यो रकम उनले प्रधानमन्त्री ओलीलाई प्रभावित पारेर आो्नो फ्रिज भएको पैसा निकाल्ने उपाय स्वरूप दिएकी थिइन् । उनले आफ्नो समस्या प्रधानमन्त्रीलाई भनेको र प्रधामन्त्रीको किचेन क्याविनेटले पनि गोप्य च्यानलबाट छुटाउनका लागि प्रयत्न गरेको सम्पति शुद्धिकरण विभागका एक कर्मचारीले ब्रेक एन लिंक्सलाई बताए । तर, विभागले यो एक्सपोज हुन्छ र त्यसले प्रधानमन्त्रीलाई अप्ठ्यारो हुन सक्छ भनेपछि उनीहरू हच्केका थिए ।

आनीले त्यो पैसा अस्पताल तथा स्कुलहरुका लागि आवश्यक पूर्वाधार तयार पार्न तथा अन्य सेवा कार्यमा खर्चिन ल्याएको दावी गरेकी छिन् । तर, त्यसको स्रोत अझै पनि खुल्न सकेको छैन ।

शुद्धिकरण विभागका एक अनुसन्धान अधिकारी भन्छन्- ' अनुसन्धान जारी छ । शंकास्पद नै भेटिए कानुन अनुसार कारवाही हुन्छ। वैधानिक स्रोत देखिएमा पैसा फुकुवा हुनसक्छ।'

प्रकाशित मिति: : 2019-06-06 04:16:28

प्रतिकृया दिनुहोस्