प्रितम र आयुष सारेगमप लिटल च्याम्प्सको फाइनलमा

नेपालका दुई होनहार वालप्रतिभा प्रितम आचार्य र आयुष केसी सारेगमप लिटल च्याम्प्समा । तस्बिर: जीटीभी

भारतीय टेलिभिजन च्यानल जीटीभीमा जारी वाल-गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’मा नेपालका दुई वालप्रतिभाले उपाधिको सशक्त दावेदारी प्रस्तुत गर्दै फाइनलमा प्रवेश गरेका छन्।

इटहरीका प्रितम आचार्य र भक्तपुर ठिमीका आयुष केसी सेमिलाइनलमा उत्कृष्ट प्रस्तुति दिदै फाइनलमा पुगे। प्रितम आचार्य पर्फमर अफ द विक हुदै पहिलो रोजाइका साथ फाइनलमा प्रवेश गरे। 

उनले सेमिफाइनलमा प्रस्तुत गरेको गीतलाई सारगेमकै मास्टर पिस भन्दै जज र जुरी सबैले प्रशंसा गरेका थिए। उनले आफ्नो चुलबुले चरित्रभन्दा फरक गम्भीर गीत गाएर सबैको मन जितेका थिए। 

आयुषको नाम भने छ जना फाइनल प्रतिस्पर्धीमध्ये अन्तिममा बोलाइयो।उनले पनि सेमिफाइनलमा दमदार प्रस्तुति दिएका थिए। 

आगामी आइतबार हुने फाइनलमा प्रितम र आयुससँगै मोहम्मद फैज, आस्था दाश, अनुष्का पात्रा र सुगन्धा दाते पुगेका छन। यी सबै प्रतिभाहरू एक से एक भएकाले जो कोही पनि विजेता हुने हैसियत राख्छन् ।

प्रितम आचार्यको चञ्चलता र आयुशको निश्चलताले सारेगमको मञ्चमा नेपालको शान बढेको छ। त्यहाँ उनीहरूलाई हरेकले नेपालबाट आएका प्रतिभाका रूपमा इज्जत दिएका छन्। उनीहरूले पनि नेपाली शान र मानमा कुनै कमी हुन दिएका छैनन्। उनीहरूले कार्यक्रमका अतिथि, जज र जुरीसहित भारतीय सेलिब्रिटीहरूको पनि मन जितेका छन्।

 सिन्धुपाल्चोकका आयुष केसी भक्तपुर ठिमीमा बस्छन्। उनी १२ वर्षका हुन् । उता, ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: : 2019-06-03 10:40:27

प्रतिकृया दिनुहोस्