नेपाली डिजाइनर प्रबल गुरुङले भने–करनसँग मेरो रोमान्टिक सम्बन्ध छैन

बिएल

विश्व चर्चित नेपाली डिजाइनर प्रबल गुरुङको एउटा ट्वीट विवादित बन्न पुगेपछि उनले स्पष्टीकरण दिनु परेको छ।

न्युयोर्कलाई आफ्नो कर्मथलो बनाएका प्रबलले बलिउड निर्माता तथा निर्देशक करन जोहरको जन्मदिनमा एउटा रोमान्टिक ट्वीट गरेका थिए। तर, त्यो ट्वीटले उनको इमेज धुमिल बन्न थालेपछि प्रष्टीकरण दिएका हुन्। 

करनले २५ मेमा ४७ औं जन्मदिन मनाएका थिए। यतिबेला उनले करनसँग खिचेको पुरानो तस्वीर सार्वजनिक गर्दै लेखेका थिए, ‘प्यार किया तो डरना क्या....ह्याप्पी बर्थडे।’

उनको यो ट्वीटपछि धेरैले करन र उनीबीच समलिंगी सम्बन्ध भएको आशंका गरेका छन्।

रमाइलोको लागि गरिएको ट्वीटले इमेज बेग्लै बन्न थालेपछि प्रबलले तुरुन्त अर्को ट्वीट गर्दै भनेका छन्, ‘म करन जोहरसँग ‘डेट’ मा छुइन्। उनी मेरो नजिकका साथी, पथ–प्रदर्शक र ठूलो दाजु पनि हुन्।’

उनले ट्वीटरमा आफ्नो लामो भनाई पोस्ट गर्दै भनेका छन्, ‘कृपया मैले अटेच गरेको भनाई पनि विस्तृतमा पढ्दिनु होला। मलाई लाग्छ, पढिसकेपछि सबैले हामी बीचको सम्बन्ध माथि गरिरहेको अड्कलबाजी समाप्त हुनेछ। सवैलाई धेरै–धेरै शुभकामना र प्रेम।’

प्रबलले आफ्नो पोष्टलाई लिएर करन र आफू बीचको सम्बन्धलाई लिएर हुन थालेको हल्ला प्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘महिला तथा सज्जनबृन्द! के हामी केही समयका लागि ठट्टा गर्न सक्दैनौ? मलाई दुःख लागिरहेको छ, म आफैले भन्नु परिरहेको छ, म खुला हृदयको छु भनेर। म करनसँग रोमान्टिक सम्बन्धमा छुइन्।’

उनले करन आफ्नो नजिकको साथी भएको र आवश्यकता पर्दा आफ्नो लागि बोलिदिने साथी भएको बताए।

‘हामी गाह्रो अफ्ठेरो अवस्थामा सँगै हुन्छौं। करनको म प्रशंसक हो र उनलाई धेरै सम्मान गर्छु। उनी मेरो लागि मात्र होइन, मेरो परिवारको हितका लागि पनि उभिने गर्छन्। म उसको बुद्धि, उसको दयालुपना र सहानुभूतिप्रति कायल छुँँ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2019-05-28 17:41:09

प्रतिकृया दिनुहोस्