‘सटगन’ को अग्नि–परीक्षा आज, छोरी सोनाक्षीको अपील

Agency

बलिउड नायिका सोनाक्षी सिन्हाले अभिनेता बुवा सत्रुघन सिन्हाका लागि भोटको अपील गरेकी छिन्।

बलिउडमा ‘सटगन’ को उपनामले परिचित सत्रुघन बिहारको पटना सरिफबाट लोकसभा निर्वाचनको प्रत्यासी छन्। उनी पहिले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा आवद्ध थिए।

तर, यो निर्वाचनमा पार्टीले आफूलाई उपेक्षित गरेको भन्दै उनले भाजपा परित्याग गर्दै भारतीय कंग्रेसमा समावेश भएका थिए।

सत्रुघनको भाग्यको परीक्षा आज (आइतबार) भइरहेको छ। सातौं तथा अन्तिम चरणको निर्वाचनमा उनी भाजपाका केन्द्रिय मन्त्री रवी शंकरविरूद्ध मैदानमा उत्रिएका छन्।

पटना सरिफ सत्रुघनको पुरानो संसदीय क्षेत्र हो। उनी यहाँबाट निर्वाचित भएर अटलबिहारी बाजपेयीको सरकारमा मन्त्री भइसकेका छन्।

सोनाक्षीले ट्वीट गर्दै बुवालाई भोट हाल्न सबैमाझ अपील गरिन्। उनले इलेक्ट्रोनिक भोटिङ मेशिन(इभिएम) को दोस्रो नम्बरमा हात चुनाव चिन्हमा मतदान गर्दै आफ्नो बुवालाई जिताउन अपील गरेकी छिन्।

उनको अपीलमा विभिन्न व्यक्तिले मिश्रित प्रतिक्रिया दिएका छन्। निर्वाचनको परिणाम २३ मे मा सार्वजनिक हुनेछ।

सोनाक्षी अघिल्लो फिल्म दबंग–३ मा पुनः सलमान खानसँग देखा पर्दैछिन्। अक्षय कुमारसँग उनको अर्को फिल्म ‘मिशन मंगल’ पनि पाइप लाइनमा छ।

प्रकाशित मिति: : 2019-05-19 10:05:04

प्रतिकृया दिनुहोस्