अभिनेता कमल हसनमाथि चप्पल प्रहार, १० पक्राउ

तस्वीरः एजेन्सी

भारतीय फिल्मका चर्चित अभिनेता कमल हसनलाई एक व्यक्तिले सार्वजनिक समारोहमा चप्पल फ्याँकेका छन्। अभिनेताबाट नेता बनेका हसन बुधबार एउटा चुनावी सभालाई सम्बोधन गर्दै थिए।

यो घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। तर, के कारणले उनी माथि चप्पल प्रहार भयो भन्ने खुल्न सकेको छैन। यसै साता कमलले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई स्वतन्त्र भारतको पहिलो हिन्दु आतंकवादी घोषणा गरेका थिए।

उनको टिप्पणीलाई लिएर भारतमा हंगामा भएको थियो। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले यसको विरोध गरिसकेको छ। उनी माथि चप्पल प्रहार हुनुको कारण पनि यही टिप्पणीको प्रतिक्रिया हुन सक्ने अड्कल लगाइएको छ।

कमलले केही वर्ष अगाडि मक्कल निधि मैयम (एमएनएम) नामक राजनीतिक पार्टी खोलेका थिए। उनी दक्षिण भारतको मदुरैस्थित थिरुपरनकुन्द्रम क्षेत्रमा प्रदेशको उपचुनावको प्रचारका लागि निस्किएका थिए।

प्रकाशित मिति: : 2019-05-16 11:48:35

प्रतिकृया दिनुहोस्