अमेरिकाको भिसा चारपटक अस्वीकृत भएकी गायिका कोमल वलीले अन्तत: माननीय भएपछि अमेरिकी भिसा पाएकी छिन्। उनले यो भिसा गायिका कोमल वलीको हरियो पासपोर्टमा हैन, माननीय कोमल वलीको रातो पासपोर्टमा पाएकी हुन्।
सत्तारूढ नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी ओली यतिबेला अमेरिका भ्रमणमा छिन्। उनी वाशिंगटन डीसीस्थित नेपाली दूताबास र अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) ले सयुक्त रूपमा आयोजना गरेको 'नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीति' विषयक कार्यक्रममा सहभागी हुन अमेरिका आएकी हुन्। यस अतिरिक्त अन्य केही कार्यक्रममा पनि उनको सहभागिता रहने बताइएको छ।
गायिका वलीले यसअघि अमेरिका आउँन चारपटक प्रयास गर्दा पनि भिसा पाएकी थिइनन्। पटक पटक आवेदन दिँदा पनि भिसा नलागेपछि आजित भएकी उनले ब्याय फ्रेण्ड वा श्रीमान् नभएकै कारण आफूलाई अमेरिकाले भिसा नदिएको सार्बजनिक रूपमै बताएकी थिइन्।
हरियो पासपोर्टमा भिसा नलागेकी गायिका वलीले माननीय भएपछि रातो पासपोर्ट हात पारिन् र त्यसैमा भिसा लगाएर अमेरिका आएको उनी निकट स्रोतले बताएको छ।
कुनै समयको वलीसँगै 'बाँंझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा' बोलको गीत गाएका लोकगायक प्रेमराजा महतले त्यही गीत राखेर वलीलाई अमेरिकामा स्वागत गरेका छन्। अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा बस्दै आएका महत यतिबेला अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत रहेका छन्।
लोकगायिका र सञ्चारकर्मीको परिचय बनाएकी वली विचारले सुरूदेखि नै राजभक्त रहदै आएकी थिइन्। राजावादी कमल थापाको राप्रपाबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी उनी केही समयपछि नै तत्कालिन एमालेमा प्रवेश गरिन्।एमाले कोटामा प्रत्यक्षतर्फ सांसदको टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएकी उनले उम्मेद्वारी फिर्ता लिइन् र त्यसबापत राष्ट्रियसभाको सदस्य हात पारिन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट उनले त्यसपछि पछाडि फर्केर हेर्न परेको छैन।यद्यपि, पार्टीमा वलीको दिन दुई गुना रात चौगुना बढोत्तरी भएको कुरा लामो समयदेखि पार्टीमा योगदान दिएका पार्टी कार्यकर्ताहरूलाई खासै जचेको छैन। पार्टी प्रवेश गरेको एक वर्ष पनि नपुगी विधान बिपरित प्रदेश कमिटी सदस्य बनाइएको भनेर ओली इतर पक्षले आवाज उठाउँदै आएको छ। तर, पार्टी अध्यक्ष ओलीले त्यसलाई टेरपुच्छर लगाएका छैनन् ।
कुनै समय 'पैला जान पाम...' जस्ता गीत गाएकी गायिका ओलीका यस्ता गीत पनि पार्टीका अधिकांश कार्यकर्तालाई पचेका छैनन्। पछिल्लो समय भने उनी कम लोक गायिका बढी नेकपाकी सांसद भएकी छिन्।