'लुट्न सके लुट कान्छा' बोलको व्यंग्यात्मक गीतमा प्रयोग भएका शब्दमा सरकारी पक्षले असन्तुष्टि जनाएपछि उनले सो गीत हटाएका हुन्।उनले आफ्नै युट्युब च्यानलमा उक्त गीत सार्वजनिक गरेका थिए। तर शनिबार हटाउने अवस्थामा पुगेका हुन्।
सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुल (बोर्डिङ)मा पढाएको, सरकारी अस्पतालको डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै उपत्यकामा घर ठड्याएको, वाइडबडी जहाज किन्दा आर्थिक घोटाला भएको, सुनकाण्ड र ठूलै नेता भ्रष्टाचारमा संलग्न भएकोलगायतका विषय शर्माको गीतमा समावेश थिए।
शनिबार दिउँसोसम्म दुई लाख ९० हजारभन्दा बढीले सो गीतको भिडियो हेरिसकेका थिए। यस्तो छ शर्माले जारी गरेको विज्ञप्ति:
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !
हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।
सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।
मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।
सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।
र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।
धन्यवाद।
पशुपती शर्मा