थाईल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई उपाधी

बिएल

नेपालमा आयोजना भएको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज–२०१९ को उपाधि थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र भियतनामका काव सुओङ्ग फामले जितेका छन्। 

आईतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६ र २१–१४ को सेटमा हराउँदै उपाधि चुमिन्।

पुरुषतर्फ छैटौं बरियताका भियतनामी फामले फाइनलमा आठौं स्थान प्राप्त थाईल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१ र २१–१९ ले पराजित गर्दै उपाधि जिते।

विजयी पुरुष तथा महिला एकलतर्फका बिजेताले नगद १८७५ अमेरिकी डलर र उपविजेताले ९५० डलरसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। तेश्रोले ३६२.५० डलर, प्रमाण पत्र र मेडल प्राप्त गरे।

महिला युगलतर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्लेले उपाधी उचाले। प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियन जोडीले फाइनलमा चौथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे।

यस्तै पुरुष युगलतर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जुन र ध्रुब कपिलाको जोडीलाई २१–१९ र २१–१५ ले पन्छाउँदै उपाधी उचाले।

मिश्रित युगलतर्फ थाईल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधी हात पारे। थाई जोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन्।

विजयी पुरुष तथा महिला जोडी र मिश्रित जोडीले नगद १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे।

पाँच दिन चलेको प्रतियोगितामा २१ राष्ट्रका १ सय ४९ खेलाडी सहभागी थिए। पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार राशी २५ हजार डलर थियो ।

 

प्रकाशित मिति: : 2019-11-17 19:03:11

प्रतिकृया दिनुहोस्