चाहरको ह्याट्रिकपछि भारतलाई टि–२० शृंखला

Agency

भारतले बंगलादेशविरूद्धको टि–२० शृंखला २–१ ले कब्जा गरेको छ। आइतबार राती भएको तेस्रो टि–२० स्पर्धा ३० रनले जितेर भारत उपाधि जित्न सफल भएको हो। तीन वटा टि–२० को शृंखलाअन्तर्गत पहिलो बंगलादेश तथा दोस्रो र तेस्रो भारतले जितेको हो।

नागपुरमा भएको तेस्रो टि–२० मा दीपक चाहरले ह्याट्रिक सहित ६ विकेट लिएपछि भारत सहजै विजयी भएको हो। चाहरको करिअरको पहिलो ह्याट्रिक थियो।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। जवाफमा बंगलादेश १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सफल भयो।

बंगलादेशका लागि मोहम्मद नइमले उत्कृष्ट इनिङ खेलेका थिए। उनी ४८ बलमा १० चौका र २ छक्काको सहयोगले ८१ रन बनाएर आउट भएपछि भ्रमणकारी टोलीको खेल जित्ने सपना तुहिएको थियो। लिटन दासले ९, सौम्य सरकार शुन्य, मोहम्मद मिथुन २७ रन बनाएर आउट भए। मुस्फिकुर रहिम गोल्डेन डक भए। अफिक हुसेन पनि गोल्डेन डकको सिकार भए।

यस खेलमा युजवेन्द्र चहलले टि–२० करिअरको ५० विकेट पुरा गरेका छन्। उनले कप्तान महमदुल्लाहलाई ८ रनमा बोल्ड गरेका थिए।

दीपकले १८ ओभरको अन्तिम बलमा सफिउल इस्लाम, २० ओभरको पहिलो बलमा मुस्तफिजुर र दोस्रो बलमा अमिनुललाई आउट गर्दै हयाट्रिक पुरा गरेका थिए।

भारतीय इनिङमा कप्तान रोहित शर्मा २ रनमा आउट भए। शिखर धवनले १९ रन बनाए। लोकेश राहुलले उत्कृष्ट ब्याटिङ गर्दै ५२ रन बनाए। युवा विकेटकिपर ऋषभ पन्तले अन्तिम खेलमा पनि सबैलाई निरास पारे। उनी ६ रन बनाएर आउट भए। श्रेयसले ६२ रन बनाए। मनिष पाण्डे २२ र शिवम दुबे ९ रन बनाएर अविजित रहे। बंगलादेशका लागि सफिउल इस्लाम र सौम्य सरकारले २–२ विकेट लिए। अमिन हुसेनको नाममा एक विकेट रहयो।

अन्तिम खेलमा भारतले क्रणाल पाण्ड्याको ठाउँमा मनिष पाण्डे र बंगलादेशले मोसाद्धेक हुसेनको ठाउँमा मोहम्मद मिथुनलाई मौका दिएको थियो।

 

 

 

प्रकाशित मिति: : 2019-11-11 07:24:52

प्रतिकृया दिनुहोस्