उत्तर अमेरिकाकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ‘ग्लोबल टि–ट्वान्टी क्यानडा’को दोस्रो संस्करण यसै साता टोरन्टोमा सुरु हुँदैछ । ब्राम्प्टनस्थित सिएए स्पोर्टस् सेन्टरको मैदानमा जुलाई २५ देखि अगष्ट ११ सम्म चल्ने प्रतियोगितामा कूल २२ खेल हुनेछन् ।
नेपाली बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी पनि यो प्रतियोगिता खेल्न जुलाई अन्तिममा टोरन्टो आइपुग्ने छन् । सिंगापुरमा हुन गइरहेको ‘टि–ट्वान्टी वर्ल्ड कप एसिया रिजन छनौट प्रतियोगिता’मा नेपाली टोलीबाट खेल्ने भएकाले सन्दीप र सोमपाल केही दिन ढिलो आइपुग्ने छन् ।
नेपाली लेग स्पिनर सन्दीपले दोस्रोपल्ट यो प्रतियोगिता खेल्न लागेका हुन् । गत बर्ष नर्थयोर्कस्थित मेपल लिफ क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा सन्दीपले ‘मन्ट्रियल टाइगर्स’ टिमबाट खेलेका थिए । तर, यसपल्ट उनी ‘टोरन्टो नेशनल्स्’ टिमबाट मैदान उत्रिनेछन् ।
प्रतियोगिताको पहिलो संस्करणमा सन्दीपले पाँच खेल खेल्दै ८ विकेट लिएका थिए । यसपल्ट ‘टोरन्टो नेशनल्स’ सन्दीपलाई एसोसिएट राष्ट्रका खेलाडीबाट पहिलो नम्बरमा छान्दै ६० हजार डलर खर्चन तयार भएको थियो ।
सोमपाल भने ‘विनिपेग हक्स’का लागि तीन हजार डलरमा खेल्दैछन् । तीब्र गतिका बलर सोमपाल पहिलोपल्ट विदेशी लिग खेल्न लागेका हुन् । राष्ट्रिय टिमबाट खेल्दा बलिङ र ब्याटिङ दुबैमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेटलाई उल्लेख्य योगदान दिलाएका सोमपालको क्यानडा भ्रमण पनि पहिलो हुनेछ ।
सन्दीप आवद्ध ‘टोरन्टो नेशनल्स’मा सेलिब्रेटी क्रिकेटर युवराज सिंह, चिराग सुरी, केरन पोलार्ड, ट्रेन्ट बोल्ट, ब्रेन्डन म्याक्ल्हम आदि सहभागी छन् । सोमपाल संलग्न ‘विनिपेग हक्स’मा साइमन अन्वर, ड्यान ब्राभो, क्रिस् लेन्, ड्यान स्मिथ आदि छन् ।
यस्तै, अन्य चर्चित खेलाडीमा ‘एडमण्टन रोयल्स’बाट केन् विलियम्सन र मोहम्मद हफिज, ‘ब्राम्प्टन वल्भ्स्’बाट शाहिद अफ्रिदी र सकिबअल हसन, ‘मन्ट्रियल टाइगर्स’बाट जर्ज बेली र सुनिल नारिने तथा ‘भ्यान्कुभर नाइट्स’बाट क्रिस गेल, शोएब मल्लिक र आन्द्रे रसेल छन् ।
आयोजकले यसपल्ट पनि प्रतियोगिताको मुख्य नारा ‘क्रिकेट कम्स् होम’ राखेका छन् । अमेरिकासँग क्यानाडा छुट्टिनुअघि सन् १८४४ मा न्युयोर्कस्थित सेन्ट जर्ज क्लवमा पहिलो अन्तरार्ष्टि्रय क्रिकेट प्रतियोगिता भएको थियो । जसलाई उत्तर अमेरिकाको पहिलो अन्तरार्ष्टि्रय क्रिकेट फ्रतियोगिता मानिँदै आएको छ ।
क्यानडामा क्रिकेट त्रेज धेरै भएका दक्षिण एसियाली भारतीय, पाकिस्तानी, श्रीलंकन तथा क्यारेवियनमूलका आप्रवासीको संख्या उल्लेख्य छ । क्रिकेट रुचाउनेको संख्या अधिक भएकैले प्रतियोगिता सुरु गरेको ऊल्लेख गर्दै आयोजक गुरमित सिंहले ‘यसले क्यानडामा क्रिकेट त्रेज थप बढ्ने’ अपेक्षा गरेको सञ्चारमाध्यममा उल्लेख छ ।
प्रतियोगिताको पहिलो खेल जुलाई २५ मा ‘टोरन्टो नेशनल्स्’ र ‘भ्यान्कुभर नाइट्स’बीच अपरान्ह साढे १२ बजे सुरु हुनेछ । राउण्ड रोविन, प्लेअफ र फाइनल गरी प्रतियोगितामा कूल २२ खेल हुनेछन् । प्रतियोगिताको सिबिएस, स्टार स्पार्टस, हटस्टार आदिबाट प्रत्यक्ष प्रशारण हुनेछ ।