मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाको बराबरी

गोल गरेपछि खुसी मनाउँदै मेसी

ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले गोल गर्दै पाराग्वेलाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछाडि परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो।

दोस्रो हाफको ५७ मिनेटमा कप्तान मेसीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा लिइएको पेनाल्टीमा गोल गरेका थिए।

त्यसअघि मेसीकै प्रहार क्रसबारमा लगेर फर्किएको थियो। उक्त भली पाराग्वेको डिफेन्डरको हातमा लागेको भिडियो रिप्लेमा देखिएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

खेल बराबरीमा आएको ३ मिनेटमै नै पराग्वेले पेनाल्टी चुकाउँदा अग्रता लिने अवसर गुमायो।

अर्जेन्टिनाका निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र डेर्लिस गोन्जालेजलाई खराब ट्याकल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर, गोन्जालेजको प्रहार गोलरक्षक फ्रान्को अर्मानीले बचाए। त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र खेल १-१  को बराबरीमा सकियो।

यो बराबरीसँगै अर्जेन्टिना अंक तालिकाको पुछारमा छ। अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई फराकिलो अन्तरमा हराए  मात्र क्वाटरफाइनलमा प्रवेश पाउनेछ।  बराबरी वा पराजित भएको खण्डमा अर्जेन्टिना समूह चरणबाट नै बाहिरिनेछ।

समूहमा कोलोम्बिया २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ भने पाराग्वे २ खेलमा २ अंकसहित दोस्रो र कतार २ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-06-20 10:07:39

प्रतिकृया दिनुहोस्