आईपिएलः मुम्बई र चेन्नई क्यालिफायरमा, दिल्ली र हैदारावादले एलिमिनेटर खेल्ने

तस्बिरः एजेन्सी

भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा समूह चरणका सबै खेल सकिएका छन्।

यो सँगै प्लेअफमा पुग्ने सबै टोलीको टुंगो लागेको छ।

शीर्ष दुईमा रहँदै मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स क्वालिफायरमा पुगेका छन् भने तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र चौथो स्थानमा रहेको सनराइज हैदारावाद एलिमिनिटर खेल्नेछन्।

आईतबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा मुम्बईले कोलकता नाइट राइडर्सलाई फराकिलो अन्तरमा हराएसँगै शीर्ष स्थानमा रहेर क्वालिफायरमा प्रवेश गरेको छ। यसअघि आजै भएको पहिलो खेलमा किङ्स इलाभेन पञ्जाबसँग हार व्यहोरे पनि चेन्नई सुपर किङ्स क्वालिफायर छनोट भइसकेको थियो।

अब मुम्बई र चेन्नई सुपर किंग्सले मंगलबार क्वालिफायर खेल्नेछन्। विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ।

यता मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल तेस्रो स्थानमा झरेको छ।

समान १८ अंक भए पनि रनरेटमा पछि परेको दिल्लीले बुधबार हुने पहिलो एलिमिनिटरमा सनराइजर्स हैदरावादसँग खेल्नुपर्ने भएको छ।

यस्तै समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको हो।

एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्न पाउनेछ।

आइतबार भएको दोस्रो खेलमा कलकत्ताले दिएको १ सय ३४ रनको सामान्य लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्‍यो।

मुम्बईको सहज जितमा कप्तान रोहित शर्माले अर्धसतकीय इनिङ्स खेले। शर्मा ४८ बलमा ८ चौका सहित ५५ रनमा अविजित रहे।

त्यस्तै क्विन्टन डी ककले ३० रन बनाउँदा सूर्य कुमार यादव ४६ रनमा अविजित रहे। यादवले २७ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए।

कोलकताका लागि एक मात्र विकेट प्रसिद्ध कृष्णले लिए।

यसअघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो।

कोलकताका लागि क्रिश लिनले सर्वाधिक ४१ रन बनाउँदा रोविन उथप्पाले ४० रन जोडे।

ओपनर सुभमन गिलले ९ रन बनाउँदा आन्द्रे रसेल डक र दिनेश कार्तिक ३ रनमा आउट भए ।

तल्लोक्रमका नितेश रानाले १३ बलमा ३ चौका सहित २६ रनको योगदान दिए।

मुम्बईका लागि मालिङ्गाले ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जसप्रित बुमराको नाममा समान २ विकेट रह्यो ।

मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो।

चेन्नईले समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेपछि क्वालिफायर पक्का भएको हो। दिल्ली क्यापिटल्सले १४ खेलमा ९ मा जित र ५ मा जित निकाल्दै १८ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुगेको हो।

१४ खेलमा ६ मा जित र ८ मा हारका साथ चौथो स्थानमा रहदै हैदरावादले प्ले अफमा स्थान बनाउँदै दिल्लीसँग एलिमिनिटर पक्का गरेको हो ।

प्रकाशित मिति: : 2019-05-05 23:58:19

प्रतिकृया दिनुहोस्