म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार भएको इंग्लिस प्रिमियर लिग फुटबलमा युनाईटेड र चेल्सीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरूवाती अग्रता जोगाउन नसक्दा युनाईटेडले चेल्सीसँग बराबरीमा चित्त बुझायो।
खेलको ११ औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाईटेडलाई सुरूवाती अग्रता दिलाएका थिए। तर, खेलको ४३ औं मिनेटमा मार्कुस अलन्सोले गोल गर्दै चेल्सीलाई पहिलो हाफमै खेलमा फर्काए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाउँदा खेल १-१ गोलको बराबरीमा सकियो।
यो बराबरीसँगै चौंथो स्थानको चेल्सीले ३६ खेलबाट ६८ अंक जोडेको छ। युनाईटेड ६५ अंक जोडेर छैठौं स्थानमा रहेको छ।