हङकङलाई हराउँदै नेपाल फाइनलमा

तस्बिरः एसिसि

नेपाल एसीसी यु १६ इस्टन रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

थाईल्यान्डमा जारी प्रतियोगिताकोसेमिफाईनलमा शनिबार हङकङलाई ४ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।

हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालका लागि आशिष भट्टराईले सर्वाधिक १७ रन बनाउँदा रोहन बुद्धराज बिकले १४ तथा क्रिश कार्कीले १२  रन बनाए।

यसघि कमजोर सुरूवात गरेको नेपालका लागि ओपनर दीपक बोहोरला ११, अर्का ओपनर सुवास ऐर १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

कप्तान बिशाल केसी ७ रनमा आउट हुँदा प्रशान्त महत १, निखिलकुमार सिंह ४ रनमा नटआउट रहे।

हङकङका लागि बृज नारायणले ३ विकेट लिए भने आहान त्रिवेदीले २ विकेट लिएका थिए।

यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङ ३२.२ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटिएको थियो।

उसका लागि कप्तान आरुष भागवतले सर्वाधिक ४३ रन बनाए। नेपाली बलरको डटेर सामना गरेका उनलेहङकङलाई सम्मानजक लक्ष्य सम्म पुर्याउन उनले ८३ बलमा ४ चौका प्रहार गरे।

नेपाली बलरको कसिलो बलिङ सामु हङकङका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसक्दा ४ ब्याट्सम्यान डक आउट हुन पुगे।

हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पर्टेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।

नेपालले यसअघि समूह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो।

अर्को सेमिफाईनल खेलमा मलेसिया र सिंगापुरबीचको प्रतिस्प्रर्धा जारी छ। यो विजेताले नेपालसँग भोलि उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति: : 2019-04-27 13:39:37

प्रतिकृया दिनुहोस्