पञ्जावलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर सातौ स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

पञ्जावलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ।

एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा विराट कोहलीको नेतृत्वमा रहेको बैंगलोरले पन्जाबलाई १७ रनले हराउँदै अंक तालिकामा सातौ स्थानमा उक्लिएको हो।

बैंगलोरले दिएको २०३ रनको लक्ष्य पछ्याएको किङ्स इलाभेन पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए। मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए।

बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए।

कप्तान विराट कोहली १३ रनमा आउट भएका थिए।

पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन,मुरूगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए ।

यो जितसँगै बैंगलोरले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो। यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराउँदै पहिलो जित निकालेको थियो।

जितसंगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट ८ अंक जोडेको छ ।

पराजित पन्जाब पाँचौं स्थानमा रहेको छ । पन्जाबले ११ खेलबाट १० अंक जोडेको छ ।

प्रकाशित मिति: : 2019-04-25 00:12:21

प्रतिकृया दिनुहोस्