गौरिकाको क्लिनस्वीप, करिश्माको १२ स्वर्णको कीर्तिमान बराबरी

तस्बिरः बिएल

गौरिका सिंहले आठौं बृहत राष्ट्रिय खेलकुदमा ६ पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १२ स्वर्ण पदक जितेकी छिन्। उनले २०६५ सालमा काठमाडौंमा आयोजना भएको पाँचौ बृहत राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी करिश्मा कार्कीको कीर्तिमान बराबरी गरेकी छिन्।

१० वर्षअघि करिश्माले पनि १२ स्वर्ण जितेकी थिइन्।

बुधबार प्रतियोगिताको अन्तिम दिन गौरिकाले आफू सहभागी सम्पूर्ण स्पर्धा जित्दै स्वर्ण पदकमा क्लिन स्विप गरेकी हुन्।

आठौंमा उनी १२ वटा इभेन्ट्समा सहभागी थिइन्। उनले १२ वटै स्वर्ण जितिन्। जसमा ६ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ। फ्रिस्टायलतर्फ उनी बलियो देखिएकी छिन्। उनले फ्रिस्टायलतर्फ ५ वटा स्पर्धामा स्वर्ण जितेकी छिन्। ब्याकस्ट्रोकमा पनि ३ स्वर्ण जित्न सफल भइन्।

अन्तिम दिन गौरिकाले तीन वटा आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्। गौरिकाले ५० मिटर फ्रिस्टायलतर्फ २७ दशमलव ९७ सेकेन्डको पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै २७ दशमलव ५९ सेकेन्डको नयाँ समय निकालेर स्वर्ण जितिन्।

उनले सय मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट शुन्य ९ दशमलव ३० सेकेन्डको पुरानो कीर्तिमानलाई सुधार गर्ने क्रममा १ मिनेट शुन्य ७ दशमलव २२ सेकेन्डमा दुरी पुरा गरिन्। उनले २ सय मिटर इन्डिभिजुअल मिड्ले २ मिनेट ३२ सेकेन्डमा पुरा गर्दै आफ्नो पुरानो राष्ट्रिय कीर्तिमान सुधार गरिन्। यो स्पर्धामा उनको राष्ट्रिय कीर्तिमान २ मिनेट ३२ दशमलव ५१ सेकेन्ड थियो।

अन्तिम दिन ४ स्वर्ण जित्ने क्रममा उनले फ्रिस्टायल रिलेमा पनि स्वर्ण जितिन्। त्रिभुवन आर्मी क्लबबाट सहभागी भएकी गौरिकाले डुवाना लामा, सोफिया शाह, उपस्थी महर्जनसँग मिलेर ४ मिनेट २१ दशमलव ४१ सेकेन्डको उत्कृष्ट समयसहित स्वर्ण जितेकी थिइन्।

आइतबारदेखि सुरु भएको पौडी प्रतियोगिताअन्तर्गत अघिल्लो तीन दिनमा गौरिकाले ३ राष्ट्रिय कीर्तिमानसहित ८ स्वर्ण जितिसकेकी थिइन्।

गौरिकाले एक सय मिटर बट्टरफ्लाईमा आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन्। उनले २०१८ मा आफैले बनाएको १ मिनेट ०८.६३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ०७ दशमलव ९७ सेकेन्डको समय निकालेकी थिइन्।

उनले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४१.२५ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्। सिंहले २ सय मिटर फ्रिस्टायल पनि २ मिनेट ०९.१९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्। महिलातर्फ ४ गुणा सय मिटर इन्डिभिजुअल मिड्लेमा नेपाल आर्मीका लागि डुवाना लामा, सोफिया गुरुङ र उपस्ती महर्जनसँग मिलेर पनि अर्को स्वर्ण जितेकी थिइन्।

उनले सोमबार दोस्रो दिनको खेलमा ४ सय मिटर फ्रिस्टायल ४ मिनेट ४४ दशमलव ८२ को समय निकाल्दै ‘सर्ट कोर्ष’मा स्थापित रेकर्ड बनाएकी थिइन्। उनले १ सय मिटर फ्रिस्टायलतर्फको स्पर्धामा आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी थिइन्। उनले यसअघि बनाएको ५९ दशमलव ९१ सेकेन्डको समयमा सुधार गर्दै ५९ दशमलव ६० सेकेन्डमा दुरी पुरा गरेकी थिइन्।

आइतबार पहिलो दिन उनले ८ सय मिटर फ्रिस्टायल ९ मिनेट ३९ दशमलव २२ सेकेन्डमा पुरा गर्दै २५ मिटरको पौडी पोखरीमा स्थापित रेकर्ड बनाउन सफल भएकी थिइन्।

५० मिटर ब्याकस्ट्रोकमा नेपाल आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले ३० दशमलव ८५ सेकेन्डमा दुरी पुरा गर्दै आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन्। उनले हिट्स र मेडलका लागि भएको दुवै प्रतिस्पर्धामा आफ्नो पुरानो कीर्तिमानमा सुधार गरेकी थिइन्।

‘सर्ट कोर्ष’ (२५ मिटर पौडी पोखरी) मा ३१ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो। उनले हिट्समा पुरानो कीर्तिमान सुधार गर्दै ३१ दशमलव २२ सेकेन्डमा दुरी पुरा गरेकी थिइन्।

गौरिकाको कीर्तिमान

  • १ सय मिटर बट्टरफ्लाई– स्वर्ण (पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार)
  • ५० मिटर फ्रिस्टायल– स्वर्ण (पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार)
  • १ सय मिटर फ्रिस्टायल– स्वर्ण (पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार)
  • २ सय मिटर फ्रिस्टायल– स्वर्ण
  • ४ सय मिटर फ्रिस्टायल– स्वर्ण
  • ८ सय मिटर फ्रिस्टायल– स्वर्ण
  • ५० मिटर ब्याकस्ट्रोक– स्वर्ण (पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार)
  • १ सय मिटर ब्याक स्ट्रोक– स्वर्ण (पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार)
  • २ सय मिटर ब्याकस्ट्रोक– स्वर्ण
  • २ सय मिटर इन्डिभिजुअल मिड्ले– स्वर्ण (पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार)
  • ४ गुणा सय मिटर इन्डिभिजुअल मिड्ले– स्वर्ण
  • ४ गुणा सय मिटर फ्रिस्टायल रिले– स्वर्ण
प्रकाशित मिति: : 2019-04-24 19:24:09

प्रतिकृया दिनुहोस्