पहिलो दिन नै गौरिकाको नाममा दुई वटा कीर्तिमान

नेपालकी स्टार पौडीबाज गौरिका सिंहले आइतबारदेखि सुरु भएको पौडीको पहिलो दिन ‘सर्ट कोर्ष’ मा दुईवटा नयाँ राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण जितेकी छिन्।

उनले ८ सय मिटर फ्रिस्टायल ९ मिनेट ३९ दशमलव २२ सेकेन्डमा पुरा गर्दै २५ मिटरको पौडी पोखरीमा नयाँ कीर्तिमान बनाएकी हुन्। यस्तै, महिलातर्फ ५० मिटर ब्याकस्ट्रोकमा नेपाल आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले ३० दशमलव ८५ सेकेन्डमा दुरी पुरा गर्दै आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन्।

उनले हिट्स र मेडलका लागि भएको दुवै प्रतिस्पर्धामा आफ्नो पुरानो कीर्तिमानमा सुधार गरेकी हुन्। ‘सर्ट कोर्ष’ (२५ मिटर पौडी पोखरी) मा ३१ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो।

उनले आइतबार भएको हिट्समा पुरानो कीर्तिमान सुधार गर्दै ३१ दशमलव २२ सेकेन्डमा दुरी पुरा गरेकी थिइन। दिउँसो भएको मेडल स्पर्धामा आफ्ना प्रतिद्धन्द्धीलाई निकै टाढा छोडेकी गौरिकाले ३० दशमलव ८५ सेकेन्डमा ५० मिटर ब्याकस्ट्रोक पुरा गरिन्।

रजत जितेकी नेपाल प्रहरीकी अनुष्का पोखरेलले ३७ दशमलव ७८ सेकेन्डमा दुरी पुरा गरेकी थिइन। कास्य जितेकी एपिएफकी युसका महर्जनले ३९ दशमलव ६३ सेकेन्डमा दुरी पुरा गरिन्। गौरिकाले ५०, १ सय, २ सय, ४ सय र ८ सय मिटर फ्रिस्टायलमा भाग लिएकी छिन्।

उनले ब्याकतर्फ ५०, १ सय र २ सयमा पनि भाग लिएकी छिन्। यस्तै, १ सय मिटर बटरफ्लाईमा पनि उनको दावी छ। उनी २ सय मिटर इन्डिभिजुअल मिड्ले, ४ गुणा सय मिटर फ्रिस्टायल रिले र ४ गुणा सय मिटर मिडले रिलेमा पनि सहभागी छिन्।

प्रकाशित मिति: : 2019-04-21 20:07:13

प्रतिकृया दिनुहोस्