गौरिकाले बनाइन् नयाँ कीर्तिमान

तस्बिरः बिएल

अन्तिम समयमा नेपाल आर्मीबाट सहभागिता जनाएकी स्टार पौडीबाज गौरिका सिंहले आठौं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो स्वर्ण जितेकी छिन्। गौरिकाले १२ वटा विद्यामा भाग लिएकी छिन्।

उनले आइतबार ‘सर्ट कोर्ष’ (२५ मिटरको पौडी पोखरी) मा भएको ८ सय मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। गौरिकाले ८ सय मिटर दूरी ९ मिनेट ३९ दशमलव २२ सेकेन्डमा पुरा गरिन्।

नेपाल आर्मीकै उपास्थी महर्जन ११ मिनेट शून्य ९ दशमलव ८२ सेकेन्डका साथ रजत जित्न सफल भइन् भने नेपाल प्रहरीकी समिरा सोभा थापा ११ मिनेट १६ सेकेन्डका साथ काँस्यमा सिमित भइन।

गौरिका ५० मिटर ब्याक स्ट्रोकमा पनि नयाँ कीर्तिमानको नजिक छिन्। ‘सर्ट कोर्ष’मा यसअघि राष्ट्रिय कीर्तिमान उनकै नाममा छ। उनले ३१ दशमलव ३१ सेकेन्डमा दूरी पुरा गरेकी थिइन्। हिट्समा केही ढिलो सुरुवात गरेकी गौरिका करिब ३१ दशमलव ४० सेकेन्डमा दूरी पुरा गर्दै मेडलका लागि क्वालिफाई भइसकेकी छिन्। स्वर्णको लागि खेल दिउँसो ४ बजेपछि हुनेछ।

गौरिकाले ५०, १ सय, २ सय, ४ सय र ८ सय मिटर फ्रिस्टायलमा भाग लिएकी छिन्। उनले ब्याकतर्फ ५०, १ सय र २ सयमा पनि भाग लिएकी छिन्। यस्तै, १ सय मिटर बटरफ्लाईमा पनि उनको दावी छ। उनी २ सय मिटर इन्डिभिजूअल मिड्ले, ४ गुणा सय मिटर फ्रिस्टायल रिले र ४ गुणा सय मिटर मिडले रिलेमा पनि सहभागी छिन्।

प्रकाशित मिति: : 2019-04-21 10:45:30

प्रतिकृया दिनुहोस्