अमेरिकामा उबर ट्याक्सी चलाउनेको छोराले पौडीमा बनाए नयाँ कीर्तिमान

आमा छिरिङ शेर्पासँग नाथन। तस्बिरः नवीन अर्याल

अमेरिकामा लामो समयदेखि उबर ट्याक्सी चलाउँदै आएका एक गैरआवासीय नेपालीका छोराले नेपालगञ्जमा यही सातादेखि सुरु भएको आठौं बृहत राष्ट्रिय खेलकुदमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेका छन्।

१५ वर्षीय नाथन दोर्जी शेर्पाले ८ सय मिटर फ्रिस्टायल ९ मिनेट १७ सेकेन्डमा पुरा गर्दै ‘सर्ट कोर्ष’ मा नयाँ कीर्तिमान बनाएका हुन्।

प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा निमार्ण गरिएको ५० मिटरको पौडी पोखरी समयमा पुरा नहुँदा आइतबारदेखि स्थानीय सिग्नेट होटलको २५ मिटर छोटो दूरीको पोखरीमा खेल सञ्चालन भएको थियो।

२५ मिटरको पौडी पोखरीमा अहिलेसम्म ८ सय मिटरको खेल भएको थिएन। उनले सशस्त्र प्रहरी बल (एपिएफ) का नाथन हुसेनलाई २३ दशमलव ९३ सेकेन्डले पछि पार्दै स्वर्ण जितेका हुन्।

पहिलो पल्ट गैरआवासीय नेपाली (एनआरएन) लाई पनि सहभागी गराइएको आठौं बृहत राष्ट्रिय खेलकुदमा विदेशमै जन्मिएर स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन्।

गैरआवासीय नेपालीको तर्फबाट पहिलो स्वर्ण टेनिसतर्फ संरक्षकभूषण ब्रजचार्यले जिताएका थिए। उनी केही वर्षदेखि अस्ट्रेलियामा ट्रेनिङ गरिरहेका छन्।

नाथन ७ वर्षको उमेरदेखि अमेरिकाको न्युयोर्कस्थित ‘ट्वीस्टर स्विमिङ क्लब’ मा पौडी सिकिरहेका छन्। उनको पहिलो प्रशिक्षक भेर्नी हुन् भने पछि ज्याफ चेनले उनलाई प्रशिक्षण दिएका थिए। हाल उनको मुख्य प्रशिक्षक ड्रोगोइस हुन्।

‘म निकै खुसी छुँ। ममी–बाबाको मेहनतले र गुरुहरुको प्रशिक्षणले यहाँसम्म आउन सकेँ,’ ८ सय मिटरमा स्वर्ण जितेपछि उनले ब्रेकिङलिंक्सलाई छोटो प्रतिक्रिया दिए।

नाथनका बुवा फुदोर्जी शेर्पा र आमा छिरिङ शेर्पा २८ वर्षअघि अमेरिका पलायन भएका थिए। उनीहरुको बिहे अमेरिकामै भएको थियो। नाथनकी आमा छिरिङ भन्छिन्, ‘हामीले २४ वर्ष अगाडि न्यूयोर्कमा बिहे गरेका थियौं।’

उनले छोरालाई खेलाडी बनाउने सौख विस्तारै पुरा हुन थालेकोमा खुसी जनाइन्। ‘धेरै दुःख गरेर यहाँसम्म आइपुग्यौं। छोराको सफलतामा गर्व लागेको छ,’ छिरिङले भनिन्।

नाथन हाल न्युयोर्कस्थित एभिएसन हाइस्कुलमा १० कक्षामा अध्ययनरत छन्। उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा ७ वटा विद्यामा भाग लिएका छन्। उनले १ सय मिटर र २ सय मिटर फ्लाई, ४ सय मिटर फ्रिस्टायल, २ सय मिटर ब्याक र २ सय मिटर इन्डिभिजुअल मिडले खेल्न बाँकी छ।

प्रकाशित मिति: : 2019-04-21 10:35:40

प्रतिकृया दिनुहोस्