कुवेतमाथि नेपालको सानदार जित, विश्वकप छनोटमा दूर्भाग्य

तस्बिरः रमन सिवाकोटी

मलेसियामा सम्पन्न आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको छ।

ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको सहज जितमा म्यान अफ दि म्याच रित गौतमले ६२ रनको पारी खेले। ८४ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए।

अर्का ओपनर पवन सरार्फले ५३ रन बनाउने क्रममा ६१ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि सरार्फ र गौतमले ९३ रनको साझेदारी गर्दै नेपाललाई सहज जित तर्फ अघि बढाएका थिए।

चौका हान्दै खेल फिनिसङ गरेका आसिफ शेखले नटआउट ३३ रन जोडे। २० बल खेलेका उनले ५ चौका र १ छक्का हिर्काएका थिए। सन्दीप जोरा ५ रनमा नटआउट रहे।

यसअघि क्वालालाम्पुरमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो।

उसका लागि नोमन बुद्रोले अर्धशतकीय इनिङ्स खेले। नेपाली बलरको डटेर सामना गरेका उनले अन्तिम विकेटका रुपमा रन आउट हुनु अघि १ सय २० बलमा ८ चौका सहित ७० रनको योगदान दिए।

गोकुल कुमारले ३६ रन बनाउँदा तल्लो क्रमका हमोद अमानुल्लाह १७ रनमा आउट भएका थिए।

ओपनर मिट भावसारले १० रन बनाउँदा कप्तान अब्दुल सद्दीक शून्य रनमा आउट भएका थिए।

तेस्रो विकेटका लागि गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासेका थिए।

कुवेतका बाँकी खेलाडीले नेपाली बलरसामू टिकेर खेल्न सकेनन्। गोविन्द कुमार १ रनमा आउट हुँदा सन्जीव नायर ६ रन तथा हमजा कुरेशी ३ रनमा आउट भएका थिए।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ विकेट लिए। उनले ३ ओभर बलिङ गर्दै १३ रन खर्चिएका थिए।

कुशल मल्ल, राशिद खान र सूर्य तामाङले समान २-२ विकेट लिए।

यद्यपी प्रतियोगितामा सानदार जित निकाले पनि नेपाल आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो।

बिहिबारै भएको अर्को खेलमा यूएईले ओमानलाई १० विकेटको फराकिलो अन्तरले हराएपछि नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भयो।

यूएई पाँच खेलमा पाँचै जित निकाल्दै विश्वकपको लागि छनोट भयो।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल वर्षाले प्रभावित दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले दूर्भाग्यपूर्ण तरिकाले पराजित भएको थियो।

१ रनको हारनै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बन्यो। तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपालले चौथो खेलमा ओमानलाई १ सय ५० रनको अन्तरले पन्छाएको थियो।

प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेलमा बिहिबार नेपालले कुवेतलाई पराजित गर्नुपर्ने थियो भने अर्को खेलमा युएई अन्तिम खेलमा ओमानसँग पराजित हुनुपर्थ्यो।

तर कमजोर ओमानलाई युएईले सहजै हराउँदै विश्वकपमा स्थान बनायो।

प्रतियोगिताको मुख्य दाबेदारको रूपमा युएईसँगै नेपाललाई हेरिएको थियो। तर वर्षा बाधक भएको खेलमा युएईले नेपाललाई डी/एल मेथडमा १ रनले हरायो। सोहि हारनै नेपालको विश्वकप छनोटमा बाधा बन्न पुग्यो।

प्रकाशित मिति: : 2019-04-18 13:48:41

प्रतिकृया दिनुहोस्