४० वर्षपछि फेरियो नेपालगञ्ज रंगशालाको अनुहार

तस्बिरः बिएल

२०३६ सालमा निमार्ण भएको नेपालगञ्ज रंगशालाको रुप ४० वर्षपछि फेरिएको छ।

नेपालगञ्जमा विहिबारदेखि सुरु हुन लागेको ८ औं बृहत राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा नेपालगञ्ज रंगशालाको अनुहार फेरिएको हो। पहिले रंगशालामा विशेष अतिथि बस्ने एउटा सानो ‘स्ट्याण्ड’ थियो। तर, अहिले यसको मुहार फेरेर ३ हजार ५ सय व्यक्ति बस्ने ‘स्ट्याण्ड’ निमार्ण गरिएको छ।

युरोप र एसियाको विकसित देशहरुमा खर्चिलो र समयको बचतका लागि ‘स्टिल’ को ‘ग्राण्ड स्ट्याण्ड’ बनाउने चलन बढ्दो छ। नेपालमा पहिलो पल्ट यही प्रविधि भित्र्याएर नेपालगञ्जमा ‘ग्राण्ड स्ट्याण्ड’ निमार्ण भएको हो।

राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर विश्वामित्र सञ्जेल यसको प्रयोगले नेपाली खेलकुदमा क्रान्ति आउने बताउँछन्। हाल नेपालगञ्जमा अन्तिम चरणको काममा व्यस्त रहेका इन्जिनियर सञ्जेलले ब्रेकिनलिङ्ससँग कुरा गर्दै भने— ‘नेपालमा बजेट निकास गर्ने प्रक्रिया झन्झटिलो छ।

छोटो अवधिमा रंगशाला निमार्ण गर्नुपर्ने कारण हामीले विश्वमा कुन प्रविधिबाट काम गर्दा झिटो र छरितो हुन्छ भनेर अध्ययन गर्यौं। यो प्रविधि युरोपले धेरै अगाडिदेखि अंकाल्दै आइरहेको रहेछ। त्यसैले हामीले पनि किन प्रयोग नगर्ने भनेर सुरु गरेका हौं।’

नेपालमा यो प्रविधिको विकाश भइसकेको छैन। त्यसैले नेपालको सुनकोशी वल्र्ड वाइड कम्पनीले मलेसियाको अर्को कम्पनीसँग मिलेर यसको ठेक्का गत साउन २८ गते प्राप्त गरेको थियो।

रंगशाला १८ करोड रुपैयाँमा निमार्ण भएको हो। यसको सम्पूर्ण समाग्री चीनबाट आयात गरिएको हो। ‘बजेट निकासा गर्न ढिलाई भएका कारण निमार्ण सम्पन्न गर्न साढे ७ महिना समय लागेको हो। नभए यो ३ महिनामा फिट भइसक्थ्यो,’ सञ्जेलले भने।

नवनिर्मित प्याराफिटमा ५० भिआइपी र ५० मिडियाकर्मी बस्ने स्ट्याण्ड पनि तयार पारिएको छ। समय अभावका कारण जज बस्ने कोठा र वास रुम तयार भएको छैन। तर, त्यो प्रतियोगिता सम्पन्न भइसकेपछि निमार्ण हुने उनी बताउँछन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य—सचिव केशव बिष्ट भूकम्पीय हिसाबले पनि यो प्रविधि उपयूक्त भएको छिटो प्याराफिट तयार पार्न सकिने कारण यसलाई आफूहरुले रोजेको बताउँछन्।

‘यसको वारेन्टी पनि ४० वर्षको छ,’ उनले भने। नेपालगञ्जमा यसको प्रयोग सफल देखिन थालेपछि खेलकुद परिषद्ले नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदका लागि पोखरा रंगशालामा पनि यसको प्रयोग गर्न लागेको छ।

‘हामीले पोखरामा १८ हजार क्षमताको प्याराफिट तयारीको ठेक्का आव्हान गरिसकेका छौं। भारतको ग्रेड स्टार्टस कम्पनी र नेपालको एमए कन्स्ट्रक्सन कम्पनीले ठेक्का प्राप्त गरिसकेको छ,’ सदस्य—सचिव बिष्ट बताउँछन्।

पोखरामा निमार्ण हुन लागेको प्याराफिटको ठेक्का १ अर्ब २८ करोडको छ। तर, यसमा सेन्थेटिक ट्रयाक र भिआइपी लाउन्जको काम पनि ठेकेदार कम्पनीले पुरा गर्नुपर्ने छ।

पोखरा रंगशालाको प्याराफिट निमार्णको काम असारमा पुरा गर्नुपर्ने गरी माघमा सम्झौता भएको थियो।

नेपालगञ्जमा राष्ट्रपतिद्वारा आठौं खेलकुद उद्घाटन: ‘टर्च लाइट’ सल्काउँदैछन् सुरेन्द्र हमाल

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2019-04-18 11:57:57

प्रतिकृया दिनुहोस्