किङ्स इलाभेन पन्जाब भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौथो स्थानमा उक्लिएको छ।
चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार राजस्थानलाई १२ रनले हराएपछि उसलाई यो स्थान प्राप्त भएको हो। ९ खेलबाट यो उसको पाँचौ जीत हो।
घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो।
राजस्थानका राहुल त्रिपाठीले ५० रनको अर्धशतकिय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। यस्तै स्टुवार्ड बिनीले अविजित ३३ रन बनाए। सञ्जु सामसनले २७ रन बनाउँदा अन्जिन्का रहानेले २६ तथा जोश बट्लरले २३ रन जोडेका थिए।
पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।
पन्जाबको लागि लोकेश राहुलले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले। डेभिड मिल्लरले ४० रन बनाउँदा क्रिस गेल ३० रनमै आउट भए।
मायांक अग्रवालले २६ रन बनाउँदा रविचन्द्र आश्विन १७ रनमा अविजित रहे।राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।
यो जितसँगै पन्जाबले लिगमा पाँचौ जित निकाल्दै चौंथो स्थानमा उक्लिएको हो।पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ।पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।