ओमानमाथि नेपालको फराकिलो जित, विश्वकप छनोटका लागि अंकगणितीय सम्भावना बाँकि

तस्बिरः आईसिसि

नेपालले आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानलाई फराकिलो अन्तरमा हराएको छ।

२ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटिएपछि नेपालले लगातार फराकिलो जित निकालेको हो।

ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकि पेभिलिएन फर्किए।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सरार्फले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए। प्रतिस जिसी र सुर्य तामाङले समान दुई विकेट लिए । त्यस्तै कमलसिंह ऐरी, कुशल मल्ल र भिम सार्कीले समान १-१ विकेट लिए ।

यसअघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङ गरेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको पारी खेले। ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै भिम सार्कीले ३९ रन बनाउँदा अन्तिममा प्रतिस जिसीले आक्रमक ब्याटिङ गर्दै २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुले।

कुनै समय ८१/५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैठौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

नेपाललाई बलियो अवस्थामा पुर्याउन प्रतिस जिसी अन्तिम विकेटका लागि सुर्य तामाङसँग ५१ रनको साझेदारी गरेका थिए। सुर्य तामाङ ७ रनमा अविजित रहे।

पवन सरार्फले ५ रन बनाउँदा रित गौतमले १० तथा अभिषेक बस्नेतले १५ रन जोडे। सन्दीप जोरा ४ रनमा पेभिलिएन फर्किएका थिए। हरि बहादुर चौहान, कुशल मल्लले समान २-२ रन बनाउँदा कमलसिंह ऐरी १ रनमा आउट भए।

ओमानका जिल तन्ना, आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान २-२ विकेट लिए। यस मेहता र प्रथमेश कुम्बले १-१ विकेट हात पारे।

विश्वकप छनोट हुने लक्ष्य सहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरूवात गरेको थियो। तर, दोस्रो खेलमा युएईसँग १ रनले पराजित हुन बाध्य भयो।

तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले आफ्नो अन्तिम खेल विहिवार कुवेतसँग खेल्ने छ।

बिहिबार नै यूएई र ओमान भिड्ने छन्। यदि ओमान विजयी भएको खण्डमा नेट रन रेटले यूएईलाई पछि पार्दै नेपाल विश्वकपको लागि छनोट हुनसक्ने अंकगणीतीय सम्भावना अझै पनि बाँकी छ। तर त्यसका लागि नेपालले अन्तिम खेलमा कुवेतलाई हराउनुपर्ने हुन्छ।

प्रतियोगितामा चार खेल सकिँदासम्म युएई शतप्रतिशत जितसहित ८ अंक जोडेर शीर्ष स्थानमा छ। यस्तै नेपाल र कुवेतले समान ६-६ अंक जोडे पनि नेट रनरेटमा नेपाल कुवेतभन्दा धेरै माथि छ।

ओमान र सिंगापुरले समान १-१ खेल जिते पनि आयोजक मलेसिया चारै खेलमा पराजित हुँदै अंकविहिन छ। ओमान, सिंगापुर र मलेसिया छनोट यात्राबाट बाहिरिसकेका छन्।

प्रकाशित मिति: : 2019-04-16 14:23:11

प्रतिकृया दिनुहोस्