मलेसियामाथि नेपालको सानदार जित, विश्वकप छनोट अझ कठिन

तस्बिरः आईसीसी

मलेसियालाई फराकिलो अन्तरमा हराउँदै नेपालले आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा सहज जित हात पारेको छ।

९३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै ८ विकेटको सहज जित निकालेको हो।

नेपालको सहज जितमा ओपनर रित गौतमले सर्वाधिक ३९ रनको नटआउट पारी खेले। ४५ बल खेलेका गौतमले ५ चौका प्रहार गरे। १३औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै कप्तान रोहित कुमार पौडेल खेल जिताए।

यसअघि पवन सरार्फले १९ तथा आशिफ शेखले २६ रन जोडे।

सरार्फले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दा शेखले १८ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

मलेसियाका लागि अफीक सयाकीर र स्युक्री मडेलीले समान १-१ विकेट लिए।

यसअघि क्वालालाम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो।

मलेसियाका लागि इज्जत ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाउनुबाहेक कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले नेपाली बलरसामू खुलेर खेल्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न पवन सरार्फले ८.५ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए।

त्यस्तै कुशल मल्लले ८ ओभरमा २ मेडनसहित २० रन खर्चेर ३ विकेट लिँदा कमलसिंह ऐरीले २ र सागर ढकालले १ विकेट हात पारेका थिए।

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा वार्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएपछि नेपालको विश्वपको यात्रा कठिन बनेको छ।

यस्तै आजै भएको अर्को खेलमा युएईले कुवेतलाई सहजै हराउँदै उपाधिको दाबेदारी देखाइसकेको छ।

कुवेतलाई ५६ रनमा रोक्दै युएईले ८ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। यो सँगै तीनै जित निकालेको युएई ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान २-२ जितसहित नेपाल र कुवेत दोस्रो र तेस्रो स्थानमा छन् तर नेपाल रन रेटमा कुवेतभन्दा धेरै अगाडि छ।

नेपाल विश्वकपमा छनोट हुन आगामी दुई खेल जिते पनि युएईले नहारेसम्म छनोट हुनेछैन।

नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र युएईले सिंगापुर र ओमानमध्ये एक टोलीसँग पराजित भएको खण्डमा मात्र नेपाल विश्वकप खेल्न पाउनेछ।
नेपालले आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्ने छ।

प्रकाशित मिति: : 2019-04-15 11:16:47

प्रतिकृया दिनुहोस्