मेसीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

तस्बिरः एजेन्सी

कप्तान लिओनेल मेसीको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल बेटिसलाई ४-१ को फराकिलो अन्तरमा हराएको छ।

यो जीतसँगै १० अंकको अग्रतासहित बार्साले यो सिजनको उपाधि होडलाई अरू मजबुत बनाएको छ।

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक गर्दा लुइस सुआरेजले एक गोल थपे। बेटिसका तर्फबाट एक मात्र गोल लोरेन मोरोनले गरेका थिए।

खेलको १८ औं मिनेटमा मेसीले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए।

उनले २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकको गोलरक्षक पाउ लोपेजले भेउ नै पाएनन्।

पहिलो हाफको इन्ज्युरी समयमा सुआरेजको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६३औं मिनेटमा सुआरेजले गोल गर्दै अग्रता फराकिलो पारे। बेटिसका लोरेन मोरोनले ८२ औं मिनेटमा शान्तवना गोल फर्काउँदै खेललाई ३-१ को स्थितिमा ल्याए। तर, कप्तान मेसीले ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यो उनको ला लिगामा ३३औं ह्याट्रिक हो।

यो जितसँगै बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोड्दै शीर्ष स्थानमा १० अंकको अग्रता बढाउन सफल भएको छ। दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २८ खेलबाट ५६ अंक भएको छ। समान खेलबाट ५४ अंक जोडेको रियल म्याड्रिड तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-03-18 09:00:32

प्रतिकृया दिनुहोस्