रोनाल्डोबिनाको युभेन्ट्सले पहिलो हार व्यहोर्‍यो

तस्बिरः एजेन्सी

इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको युभेन्टस्ले पहिलो पराजय व्यहोरेको छ। आइतबार भएको खेलमा जिनोआसँग २-० ले पराजित हुँदै यो सिजनको पहिलो हार बेहोरेको हो।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल खाँदै अप्रत्यासित हार व्यहोरेको हो। रोनाल्डोलाई यस खेलमा आराम दिइएको थियो।

जिनोआलाई जिताउन युभेन्टसकै पूर्व खेलाडी स्टेफानो स्टुरारो र गोरन पानडेभले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२औं मिनेटमा स्टेफानोले गोल गर्दै जिनोआलाई अग्रता दिलाए। त्यसपछि ८१ औं मिनेटमा पानडेभले गोल गर्दै जिनोआलाई २-० को जित दिलाए ।

युभेन्टसले दोस्रो हाफको सुरुआतमा पौलो ड्याबलाको गोलमा अग्रता लिए पनि उक्त गोललाई अफसाइड ठहर गरेको थियो।

युभेन्टसको २८ खेलमा यो पहिलो पराजय हो। ३ बराबरी र २४ जितसँगै ७५ अंक सहित युभेन्टस लिगको शिर्ष स्थानमा कायमै छ। जितसँगै जिनोआले २८ खेलबाट ३३ अंक जोडेको छ । जिनोआ लिगको १२औं स्थानमा छ।

प्रकाशित मिति: : 2019-03-17 23:59:14

प्रतिकृया दिनुहोस्