‘हटाउने’ भनेपछि मन्त्रीहरू त्रासमा, कर्मचारीले टेर्नै छाडे

काठमाडौं । गएको भदौ, २०७५ भदौ २० सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पादक र नेकपा हेर्ने केही पत्रकारलाई निवासमै बोलाएर मन्त्री हेरफेर गरेर सरकारको कामलाई गति दिने तयारी भएको बताए ।

त्यसको केही दिनमा बालुवाटार पुगेका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रधानमन्त्रीको सचिवालयसँग गुनासो गरे, “कति हल्ला गरेको होला, हटाउने, हटाउने भनेर ! कि हटाए हुन्थ्यो, कि हल्ला नगरे हुन्थ्यो ? मन्त्री हेरफेरको हल्ला चलेदेखि काम गर्नै गाह्रो भयो । यसरी कसरी काम गर्न सकिन्छ ?”

उनको आक्रोश सचिव र कर्मचारीले अपेक्षित सहयोग नगरेकोतिर लक्षित थियो । मन्त्री हटाइने हल्लाकै बीच अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भयो । तर मन्त्रिपरिषद् हेरफेर, पुनःगठनको हल्ला साम्य भएन । त्यसपछि आधा दर्जनजति मञ्चमा अध्यक्ष प्रचण्डले मन्त्री हेरफेर हुने बताए । पछि आफैं थाके र ‘अब मलाई नसोध्नूहोस्’ भन्दै पन्छिए ।

आइतबार बसेको पार्टी सचिवालय बैठकमै यस विषयले प्रवेश पाएपछि मन्त्री हटाइने पक्कापक्की भएको छ । मन्त्री हटाइने हल्ला सत्यको नजिक पुग्न थालेपछि काम नै गर्न गाह्रो भएको गुनासा मन्त्रीहरूले गर्न थालेका छन् ।

प्रकाशित मिति: : 2019-11-18 17:52:40

प्रतिकृया दिनुहोस्