ब्रोडब्यान्ड इन्टरनेटमा सरकारको तीन वर्षे लक्ष्य यही वर्ष पूरा हुँदै

तस्बिरः नेपाल न्यूज

सरकारले ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढाउन तीन वर्षका लागि तय गरेको लक्ष्य यही आर्थिक वर्षमा पूरा हुने देखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी तीन वर्ष आर्थिक वर्षमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ६८ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको भए पनि चालु आर्थिक वर्षको सुरुमै ६७ प्रतिशतभन्दा माथि पुगेको तथ्याङ्क सार्वजनिक भएको हो। उक्त तथ्याङ्कअनुसार आयोगले तीन वर्षका लागि तय गरेको लक्ष्य चालु आवभित्रै पूरा हुने देखिएको हो।

आयोगले सार्वजनिक गरेको आगामी तीन आर्थिक वर्ष (२०७६/७७ देखि २०७८/७९ सम्म)को मध्यमकालीन खर्च संरचनामा ३ वर्षमा ६८ प्रतिशत जनताको पहुँचमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्य राखिएको छ। यता नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सार्वजनिक साउन महिनाको एमआइएस रिपोर्टअनुसार मुलुकमा कुल जनसङ्ख्याको ६७.२३ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ। प्राधिकरणका अनुसार कुल जनसङ्ख्यामध्ये १ करोड ९८ लाख ४१ हजारले ब्रोडब्यान्ड इन्टरनेट चलाउन पाउँछन्।

 

प्रकाशित मिति: : 2019-11-10 07:24:24

प्रतिकृया दिनुहोस्